अत्तरीयामा क्रान्तिकारी पत्रकार महासंघको सुदुरपश्चिम भेलाः पत्रकारहरुको जमघट

जनपक्षीय पत्रकारीतामा जोड

कैलाली । नेकपा (क्रान्तिकारी माओवादी) पार्टी निकटका पत्रकारहरुको सुदुरपश्चिम भेला आज कैलालीको अत्तरीयामा सम्पन्न हुँदैछ । अत्तरीया बजारमा रहेको रामारोशन होटलको सभा हलमा उक्त भेला हुन लागेको हो ।

आयोजकले दिएको जानकारी अनुसार भेलामा सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट पत्रकार प्रतिनिधिहरु आउँने क्रम जारी रहेको छ भने प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य अतिथिहरु कार्यक्रम स्थलमा पुगिसकेका छन ।

भेलाको तयारीका लागि क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश पाँच र सातका इन्चार्ज लोकराज जैसी केही दिन अघि नै कैलाली पुगेका थिए भने संगठनका अध्यक्ष इन्द्र राउत केही समय अघि कार्यक्रम स्थलमा पुगेका छन ।

त्यसैगरी कार्यक्रमको लागि पार्टीको पोलिटब्यूरो सदस्य तथा सुदुरपश्चिम प्रदेश सेक्रेटरी चन्द्रहरी सुवेदी अटल, कैलाली पार्टी इन्चार्ज रामबहादुर केसी, कैलाली पार्टी सेक्रेटरी रुद्ध कडेंल, कञ्चनपुर इन्चार्ज गोविन्द पौडेल क्षितिज, कैलाली पार्टी सेक्रेटरी हरी सुवेदी लगायत विभिन्न मोर्चा र संगठनका नेताहरु समेत कार्यक्रम स्थलमा आउँने क्रम जारी रहेको बताइएको छ ।

क्रान्तिकारी पत्रकार महासंघको सुदुरपश्चिम प्रदेश संयोजक धनन्जय अवस्थीको सभापतित्वमा हुने उक्त भेलामा जनपक्षिय पत्रकारीताका समस्या, साना लगानीका मिडियामा राज्यको लगानी, पेशागत सुरक्षा तथा हक, हित र अधिकारको विषयमा व्यापक छलफल समेत हुने बताइएको छ ।

भेलाबाट क्रान्तिकारी पत्रकार महासंघको प्रदेश कमिटि समेत निर्वाचित हुने छ । क्रान्तिकारी पत्रकार महासंघले जनपक्षिय पत्रकारीता र राष्ट्रियता, जनतन्त्र, जनजिविकाको सवालमा पत्रकारको भूमिकाका विषयमा अन्य सम्बद्ध निकायहरुबीच अन्तरक्रिया, छलफल तथा संघर्षका कार्यक्रमको तय समेत गर्ने जनाइएको छ ।

उक्त भेलामा विभिन्न सञ्चार माध्यममा कार्यरत करिब दुई दर्जन पत्रकारहरुको सहभागिता हुने आयोजकले जनाएको छ । भेलामा प्रदेश संयोजकले संगठनात्मक प्रतिवेदन पेश गर्नेछन भने अन्य विधिध विषयहरुमाथी छलफल हुनेछ ।