देशव्यापी आन्दोलनको तयारीमा क्रान्तिकारी माओवादीः आन्तरिक छलफलमा नेताहरुको ब्यस्तता

गाउँबाट प्रदेश स्तरमा संघर्ष केन्द्रीकरणको नीति

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को हालै सम्पन्न केन्द्रीय समितिको बैठकपछि नेताहरु गाउँबाट प्रदेश स्तरमा संघर्ष केन्द्रीकरणको पार्टी नीति अनुसार आन्तरिक तयारीमा जुटेका छन ।

पार्टीले तय गरेको योजना अनुसार नेताहरुमा गतिशिलता नदेखिएको र पार्टी कार्यालय वरिपरि जाम रहेको भन्ने तल्लो कमिटिको आलोचना खेप्दै आएको उक्त पार्टीले बैठकपछि भने सबै जिल्ला इन्चार्ज र जिम्मेवार नेताहरुलाई जनतासँग सिधैं जोडिने गरी फिल्डमा जान कडा निर्देशन दिएको हो ।

पार्टीको योजना अनुसारका तयारीहरु गर्नका लागि अहिले क्रान्तिकारी माओवादीका अधिकाशं नेताहरु अहिले फिल्डमा दौडिरहेका छन । क्रान्तिकारी माओवादीले गाउँबाट शहर घेर्ने खालको संघर्षको योजना ल्याएको छ ।

पार्टी निकटका विभिन्न मोर्चा, संगठनहरुले समेत त्यहि गतिमा संघर्षको तयारी गरिरहेको बताएका छन । पार्टी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले देशमा एक ऐतिहासिक तेस्रो जनआन्दोलनको उठान गर्ने र त्यो हडतालसम्म जान सक्ने बताएका छन ।

मोर्चाले आउँदो चैत्र २४ गते राजधानी काठमाडौं लगायत देशैभर राज्यका विरुद्ध जनतालाई सडकमा ल्याउने तयारी गरेको छ । मोर्चा पार्टी योजना अनुसार देशव्यापी रुपमा आन्दोलनको तयारीमा संगठन परिचालन गरिरहेको छ ।

त्यस्तै विद्यार्थी, युवा, महिला, किसान, मजदुर, पत्रकार लगायतका मोर्चा, संगठनहरुका नेताहरु समेत फिल्डमा पुगेका छन । नेताहरु अहिले पार्टी केन्द्रले तय गरेको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्यालाई जोडेर सडक संघर्षदेखि आमहड्तालसम्मका कार्यक्रमको तयारीमा परिचालित भएका छन ।

श्रोतबाट प्राप्त जानकारी अनुसार पार्टी केन्द्रको बैठकले खासगरी जनसंघर्ष, वर्गसंघर्ष र प्रतिरोध संघर्ष उठानका लागि गाउँदेखि प्रदेश स्तरमा ठोस योजना निर्माण गरि संगठन परिचालन गर्ने नीति तय गरेको छ ।

त्यसैको कार्यान्वयका लागि अहिले क्रान्तिकारी माओवादीका नेताहरु प्रदेश बैठकहरुमा केन्द्रित भएका छन् । पार्टीका महासचिव मोहन बैद्य किरणदेखि स्थायी समिति सदस्य सीपि गजुरेल, रामसिंह श्रीस, हरिभक्त कडेल, परी थापा आफै. फिल्डमा खटिएको हरपल नेपाललाई श्रोतबाट जानकारी आएको छ ।

संघर्षको तयारी तथा संगठनको कामका क्रममा अहिले पार्टीका महासचिव बैद्य पूर्वि नेपालतिर पुगेका छन भने, गजुरेलले तीन नम्बर प्रदेशको इन्चार्जसिप गरिरहेका छन, त्यस्तै मध्ये र पश्चिमसम्म नेताहरु दौडधुपमा रहेको खबर छ ।

हरपल नेपालसँगको कुराकानीमा पार्टी पोलिटव्युरो समदस्य तथा तीन नम्बर प्रदेश सेक्रेटरी दिनेश शर्मा सागरले आफु केन्द्रीय समितिले गरेका निर्णयहरुको स्पिरिटलाई पकड्दै प्रदेश समितिहरुको संघर्षका योजनामा केन्द्रित छलफलका लागि नुवाकोट पुगेको बताए । उनले देश व्यापी संघर्षको योजनामा पुरै पार्टी कमिटि परिचालित भएको जनाएका छन ।

गत मंसिर १२ देखि १७ सम्म बुटवलमा बसेको क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार तल्लो कमिटिमा गति दिन प्रदेश कमिटिका बैठकहरु बसाउँदै योजनाको तयारीमा नेताहरु धमाधम जुटिरहेका छन् ।

प्रदेशले जिल्लाहरुमा प्रभावकारी कार्यक्रमको सुझाव सहित कार्यान्वयनका छलफल चलाएको बुझिएको छ । प्राप्त जानकारी अनुसार क्रान्तिकारी माओवादीको प्रदेश समितिको बैठकको स्थिति यस्तो छ ।

१ न. प्रदेशको बैठक तयारी गरिदिँछ ।
२ नं प्रदेशको बैठक पुस ५ र ६ गते बसेको छ ।
३ नं. प्रदेशको बैठक मंसिर २६ र २७ गते सम्पन्न भएको छ ।
४ नं. प्रदेशको बैठक मंसिर २३ र २४ गते पोखरामा सम्पन्न भइसकेको छ ।
५ नं. प्रदेशको बैठक मंसिर १९ र २० गते बुटवलमा सम्पन्न भइसकेको छ ।
६ नं. प्रदेशको बैठक पनि ९ पुसमा सम्पन्न हुँदैछ ।
७ नं. प्रदेशको बैठक पुसको ६ र ७ गते सम्पन्न हुँदैछ ।

त्यस्तै पार्टी पिविएम तथा ४ नं. प्रदेश सचिव श्यामले बैठकले आउँदो जेठमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको बताएका छन ।

यसैगरी अन्य प्रदेशहरुमा पनि प्रदेश सम्मेलनको तयारीका साथै संघर्षका ठोस योजनाहरु तर्जुमा गर्न छलफलहरु केन्द्रित भएको खुल्न आएको छ ।