आज मार्गशीर्ष शुक्ल अर्थात धान्यपूर्णिमाः नेवार समुदायको योमरी पुन्हि र किरातको उधौली पर्व

नयाँ अन्न खानुपूर्व देवताको पूजा गर्ने परम्परा

काठमाडौं । आज मार्गशीर्ष शुक्ल अर्थात मंसिर पूर्णिमा हो । आजको दिनमा धान्यपूर्णिमा पर्वको रुपमा मनाइने गरिन्छ भने नेवारी समुदायमा यसलाई योमरी पुन्हि र किरातीहरुले उधौली पर्वको रुपमा समेत मनाउने परम्परा रहेको छ ।

आजको दिनलाई नेपाली परम्परा अनुसार धनधान्य पूर्णिमा पर्वका रूपमा मनाउँने चलन रहेको छ । धनकी देवी लक्ष्मीलाई समृद्धिको प्रतीकका रूपमा आज विशेष पूजा गर्ने परम्परा रहेको छ ।

त्यस्तै आजको दिन घरघरमा धानको पर्वत बनाई लक्ष्मीको पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास नेपाली समाजमा रहेको पाइन्छ । आजकोे दिन विहानै उठेर सरसफाईको कामपछि लक्ष्मी, गणेश, कुमार, कुवेरलगायतका देवी देवतालाई चढाएर मात्र खाना खाने चलन रहेको छ।

त्यस्तै नेवारी समुदायमा आजको दिन धानको भकारीमाथि देवी देवतालाई राखी पूजा गर्ने परम्परा छ । उनीहरुले योमरी पुन्हिको रुपमा आजको दिनलाई लिने गर्दछन । त्यस्तै लिम्बू जातिमा बाली भित्र्याएपछिको न्वागी खाने पर्वको रूपमा मंसिरे पूर्णिमा मनाइन्छ।

उधौली किरात समुदायको मुख्य चाड हो। किरात समुदायमा आज प्रकृति, पितृ र कुलदेवताको पूजा गर्ने चलन रहेको छ।लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरुले चासुवा र सुनुवारहरूले फोलष्याँदर मनाउँछन्।

फाइल तस्बिर

त्यस्तै गुरुङले सिमेभूमेको पूजा गर्ने न्वागी खान्छन्। पूर्वका थारूहरूले नेमान गर्ने, आगनको ध्वजा फेर्ने र छोराको (वर्तमन) गर्ने गर्छन्। उनीहरुले धानको च्युरा बनाएर सख्खर मिसाएर लड्डु बनाई देउतालाई चडाउने र नेमानमा पूजा गर्ने गर्छन्।

सबै जाति र संस्कृतिमा नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले कुलदेवता, पितृदेवता वा अन्य देवीदेवतालाई अर्पण गरी आफू खाने परम्परा अनुसार यो पर्व मनाउने गरिन्छ ।

आजविशेषगरी पहाडी भेगमा आज (गोठपूजा) गोठ सफासुग्घर गरी गाईबस्तुको विशेष पूजा गर्ने चलन छ। कतिपय समुदायमा यो दिन कुलदेवताको पूजा गर्ने चलन छ।

आज नयाँ चामलबाट बनेको खीर, चामलको पीठोको बाबर र पिठोबाटै बनेको पुवा पकाएर कुलदेवतालाई चढाउने परम्परा पनि रहेको छ।