Update: दाङमा स्कुल बस दुर्घटनाबाट मृत्यु हुनेको सख्या १६ पुग्यो, दुईको अवस्था गम्भीर

घाइतेहरुको विवरण यस्तो छ

दाङ । दाङमा रहेको शहिद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक सवार स्कुल बस दुर्घटनाबाट मृत्यु हुनेको सख्या अहिलेसम्म १६ पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त स्कुलको बस सल्यानको शैक्षिक भ्रमण गरी फर्कने क्रममा दाङ सल्यान सडक खण्डको तुलसीपुर ३ मा पर्ने घुम्ती नजिक दुर्घटना भएको हो ।

आज बेलुकी ५ बजेतिर भएको उक्त दुर्घटनाबाट १० जना घाइते रहेका छन । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइतेहरुको अहिले राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ भने गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि त्यहाँबाट नेपालगञ्ज लैजाने तयारी गरिएको छ ।

गम्भीर घाइते हुनेहरुमा दाङ घोराही उपमहानगरपालिका १९ स्युजाकी १७ वर्षीया मेनुका रिजाल र अछाम मंलगसैन नगरपालिकाका १९ वर्षीय युवराज ढुंगाना रहेको बताइएको छ।

मृत्यु हुनेहरुको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले बताएको छ । प्रहरीले घाइतेहरुको भने पहिचान भएको जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको विवरण यस्तो रहेको छ ।

  • १ जुम्ला तातोपानी गाउँपालिका १४ का १८ वर्षीया हिमाली हमाल

  • २ जुम्ला चन्दनाथ गाउँपालिका ३ का १६ वर्षीय कुशेन्द्र खत्री

  • ३ जुम्ला चन्दनाथ गाउँपालिका २ का १७ वर्षीय जीवन भण्डारी

  • ४ जुम्ला चन्दनाथ गाउँपालिका ४ का १६ वर्षीया पर्शा रोकाया

  • ५ दाङ घोराही उपमहानगरपालिका १५ रतनपुरका १७ वर्षीया समीक्षा रोकाया

  • ६ अछाम मंगलसेन नगरपालिकाका १८ वर्षीय विक्रम भण्डारी

  • ७ रुकुम त्रिवेणी गाउँपालिका ३ का १६ वर्षीय प्रेमबहादुर खड्का

  • ८ रुकुम सानोभेरी गाउँपालिका ३ की १६ वर्षीया रोजिना पुन

  • ९ दाङ घोराही उपमहानगरपालिका १९ स्युजाकी १७ वर्षीया मेनुका रिजाल

  • १० अछाम मंलगसैन नगरपालिकाका १९ वर्षीय युवराज ढुंगाना