सिक्लेस पुगेर प्रचण्डले भने–‘वर्तमान सरकारको विकल्प छैन’

सिक्लेसमा पक्की बाटो बनाउने प्रतिबद्धता

फाईल तस्बिर

पोखरा । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान सरकारको विकल्प नरहेको बताएका छन । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् ।

उनले नेपाली जनताले आशा एवं भरोसा गरे अनुरुप नै सरकार अघि बढेको बताए । पार्टीले निर्वाचनका समयमा गरेका प्रतिबद्धता अनुरुप नै सरकारले आगामी बजेट निर्माण गर्ने उनले जानकारी गराए ।

सामाजिक सुरक्षा, विकास निर्माण लगायतमा व्यक्त चासोलाई सम्बोधन गर्ने गरी अघि बढिने उनले उल्लेख गरे । मुलुकमा स्थायी सरकार भएकै कारण दुवै छिमेकी राष्ट्रबीच सुसम्बन्ध कायम भएको उल्लेख गर्दै उनले आपसी सम्बन्ध अभैm प्रगाढ बन्दै गएको बताए।

दुई पार्टीबीचको एकिकरण प्रकृया तल्लो तहसम्म नै बढी रहेको जानकारी दिँदै पुर्वप्रधानमन्त्री प्रचण्डले यही २९ गते बस्ने स्थायी कमिटी बैठकबाट जिल्ला एवं भातृ सङ्गठनको नेतृत्व चयन गरिने बताए ।

सिक्लेसबाटै शान्ति प्रकृयाको शुरुआत भएको स्मरण गर्दै उनले पोखराबाट सिक्लेस जोड्ने बाटोलाई पक्की बनाउन पहल गरिने प्रतिबद्धता समेत जनाए ।रासस