क्रान्तिकारी पत्रकार महासंघको प्रदेश भेला सम्पन्न: सात सदस्यीय कमिटी निर्वाचित

जनपक्षीय पत्रकारीतामा जोड

पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) निकटको क्रान्तिकारी पत्रकार महासंघले चार नम्बर प्रदेश भेला भव्य रूपमा सम्पन्न गरेको छ ।

नेपाल पत्रकार महासंघको सभा हलमा सम्पन्न भेलाबाट गोपाल जिसिको अध्यक्षतामा एक सदस्य पछि थप्नेगरी सात सदस्यीय प्रदेश कमिटी निर्वाचित भएको छ ।

अध्यक्षमा निर्वाचित पत्रकार जिसि तत्कालिन माओवादी जनयुद्धकालदेखि नै जनपक्षीय पत्रकारीताका क्षेत्रमा सकृय रहँदै आएका छन् । उनि हाल नवदृष्टि डटकममा सम्पादकका रूपमा कार्यरत छन् ।

त्यसैगरी प्रदेश कमिटीको सदस्यमा निर्वाचित सञ्जय तिवारी वर्गदृष्टि साप्ताहिकमा, राजेन्द्र सुवेदी हरपल नेपाल डटकममा, निर्मल पौडेल रेडियो कुशुममा, शोभा जिसी दाउन्ने साप्ताहिकमा र सुमन विश्वकर्मा रेडियो बुर्तिवाङमा कार्यरत रहेका छन् ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतको प्रमुख आतिथ्यता तथा पार्टीका पोलिट व्यूरो सदस्य एवं प्रदेश सेक्रेटरी श्याम र देजमो प्रदेश सेक्रेटरी केस बहादुरको विशेष आतिथ्यता रहेको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य निश्चल, कास्की सेक्रेटरी कर्ण, संगठनका सचिव रामकुमार, कार्यालय सदस्य लोकेश लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ५० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रम राजेन्द्र सुवेदीले सञ्चालन गरेका थिए ।