आजबाट सबै क्षेत्रका श्रमिकलाई पेन्सनसहितको सामाजिक सुरक्षा योजना: भव्य कार्यक्रमबीच घोषणा

हेर्नुहोस्, सरकारले ल्याउन लागेको चार सुविधाहरु यस्ता छन

काठमाडौं । ‘समाजिक सुरक्षा योजनामा सहभागी बनौं, सुरक्षित भविष्य सुनिश्चित गरौं’ भन्ने नारासहित सरकारले आज योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गर्दै छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा भव्य कार्यक्रमबीच सरकारले उक्त कार्यक्रम लागु भएको घोषणा गर्न लागको हो । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्तो घोषणा गर्ने बताइएको छ ।

आजको दिनलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने निर्णय सरकारले गरेको छ । सरकारले त्यसलाई श्रमिकको योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम भनेको छ । त्यसमा सबै क्षेत्रका श्रमिकलाई लागू हुने गरी पेन्सनसहितको सामाजिक सुरक्षा योजना समेटिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ २०७५ स्वीकृत गरेसँगै कार्यक्रम लागू हुन लागेको हो।

उक्त कार्यविधिअनुसार सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन्। उनीहरुले कोषबाट औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्नेछन्।

सामाजिक सुरक्षाबापतको सुविधाको रकम बैंक खाताबाट मात्रै भुक्तानी दिइने कोषले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदातालाई कोषमा सूचीकृत हुन सूचना प्रकाशित गरिसकेको छ । सूचनाअनुसार काठमाडौं उपत्यका भित्रका रोजगारदाता र सबै श्रमिक आपूर्तिकर्ताले ५ फागुनभित्रै कोषमा अनिवार्य रूपमा सूचीकृत भइसक्नुपर्नेछ ।

त्यस्तै, उपत्यकाबाहेक प्रदेश ३ का अन्य रोजगारदाताले १४ फागुन, प्रदेश १ का रोजगारदाताले फागुन मसान्तभित्र, प्रदेश २ का रोजगारदाताले १४ चैतभित्र, गण्डकी तथा प्रदेश ५ का रोजगारदाताले चैत मसान्तभित्र र कर्णाली तथा सुदूरपश्चिमका रोजगारदाताले १४ वैशाख ०७६ भित्र सूचीकृत भइसक्नुपर्ने उल्लेख छ ।

त्यस्तै रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको सञ्चयकोषबापत १० प्रतिशत रकम, उपदानबापत ८ दशमलव ३३ प्रतिशत आफैँले र श्रमिकको पारिश्रमिकबाट ११ प्रतिशत कट्टी गरी कुल ३१ प्रतिशत रकम कोषमा अनिवार्य जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ ।

श्रमिकले कुनै कारण पारिश्रमिक नपाउने अवस्थामा नियमित रूपमा कोषमा रकम जम्मा गर्न नसक्ने भए तीन महिनासम्मको रकम सूचीकृत रोजगारदाताले नै व्यहोर्नुपर्ने कानुनी व्यवस्था छ ।

सरकारले लागु गर्न लागेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका अन्तर्गत यस्ता छन्, चार सामाजिक सुविधाहरु

१. औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना

यस योजनाअन्तर्गत चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाबापतको शुल्क, रोगको परीक्षण तथा उपचारबापतको खर्च, औषधि खर्च पाउनेछन् । योगदानकर्ता वा योगदानकर्ताकी श्रीमतीको नियमित गर्भ परीक्षण, अस्पताल भर्ना, शल्यक्रिया तथा तीन महिनासम्मको शिशुको उपचारबापतको खर्च पाउनेछन् । मातृत्व सुरक्षाबापतको सुविधाका लागि १८ महिनाको अवधिमा १२ महिना योगदान गरेको हुनुपर्ने छ ।

अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने योगदानकर्तालाई वार्षिक रूपमा एक लाख रुपैयाँमा नबढ्ने गरी सम्बन्धित अस्पतालमा सीधै भुक्तानी गरिनेछ । मातृशिशु उपचार खर्च पनि एक लाखसम्म दाबी गर्न सकिने छ । अस्पतालमा भर्ना नहुने बिरामीले चिकित्सकको प्रेस्क्रिप्सनअनुसार वार्षिक २५ हजारसम्म प्राप्त गर्न सक्नेछन् ।

रोजगारदाताबाट पारिश्रमिकसहितको प्रसूति बिदा पाउने अवधि ६० दिन तोकिएको छ । बिरामी तथा प्रसूति बिदा पाउने अवस्थामा रोजगारदाताको व्यवसाय बन्द भएर रोजगारी गुमे रोजगारदाताले दिनुपर्ने बिदा अवधिको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम कोषले नै भुक्तानी गर्नेछ ।

२. दुर्घटना तथा अशक्तता सुरक्षा योजना

यस योजना अनुसार रोजगारीजन्य दुर्घटनामा परी उपचार गर्नुपर्ने भए उपचारमा लाग्ने सम्पूर्ण खर्च कोषले व्यहोर्नेछ । योगदान सुरु गरेको मितिबाटै यो सुविधा लागु हुनेछ । अन्य दुर्घटनामा सात लाखसम्म उपचार खर्च पाइनेछ । प्राकृतिक दुर्घटना, सडक दुर्घटना वा अन्य बिमाले व्यहोर्ने अवस्थामा भने सामाजिक सुरक्षा कोषले कुनै खर्च दिनेछैन । व्यवसायजन्य रोगका कारण असक्षमता भएको योगदानकर्ताले काममा नफर्कंदासम्म खाईपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशतबराबर रकम पाउँछ ।

३. आश्रित परिवार सुरक्षा योजना

यस योजना अनुसार योगदानकर्ताको मृत्यु भए आश्रित पति वा पत्नीलाई निवृत्तभरण, सन्ततिलाई शैक्षिक वृत्ति, आश्रित बाबुआमालाई आर्थिक सहायता र परिवारलाई अन्तिम संस्कार खर्च उपलब्ध गराइनेछ । योगदानकर्ताको मृत्यु भए आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम उसको पति वा पत्नीले जीवित रहेसम्म पाउनेछन् । तर, अर्को विवाह गरे वा वैकल्पिक रोजगार रहेको अवस्थामा भने यो सुविधा दिइनेछैन ।

मृत्यु हुनेको सन्तान १८ वर्षभन्दा कम उमेरको भए शैक्षिक वृत्तिबापत आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम पाउनेछन् । निरन्तर अध्ययनमा रहे यस्तो सुविधा एक्काइस वर्षको उमेरसम्म पाउन सकिन्छ । कुनै सन्तान शारीरिक वा मानसिक रूपमा काम गर्न अक्षम छ भने उमेरहद लागू हुँदैन । योगदानकर्ताको मृत्यु भए अन्तिम संस्कार गर्न परिवारलाई २५ हजार रुपैयाँ एकमुष्ठ उपलब्ध गराइनेछ ।

४. वृद्ध अवस्था सुरक्षा योजना

यस योजना अनुसार निवृत्तभरण र अवकाश सुविधा छन् । १ साउन ०७६ पछि रोजगारीमा रहेका श्रमिकले निवृत्तिभरण सुविधा पाउनेछन् भने यसअघिका श्रमिकले दुवै योजनामध्ये एउटा रोज्न सक्नेछन् । सेवाअवधिभर कोषमा जम्मा भएको रकम र कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल जोडेर आउने योगफललाई १८० ले भाग गर्दा आउने रकम योगदानकर्ताले हरेक महिना जीवनभर पेन्सनका रूपमा पाउनेछन् । सुविधा प्राप्त गर्ने उमेर नपुग्दै योगदानकर्ताको मृत्यु भए सो रकम हकवालालाई एकमुष्ठ दिइनेछ ।