विप्लवको जनसभामा क्रान्तिकारी माओवादीलाई गम्भिर आरोपः किरणको नेतृत्वमा क्रान्ति देखनौंः प्रवक्ता प्रकाण्ड (भिडियोसहित)

निर्णायक क्रान्तिको आवश्यकतामा जोडः कस्ले के भने हेर्नुहोस्,

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कम्युनिस्ट आन्दोलनका अग्रज नेता तथा माक्र्सवादी सौन्दर्य शास्त्रका चिन्तक मोहन बैद्य किरणले नेतृत्व गरेको पार्टीमाथी गम्भिर खालको राजनीतिक आरोप लगाएको छ ।

विप्लव नेतृत्वको पार्टीका प्रवक्ता समेत रहेका स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्डले हिजो काडमाडौंमा आयोजित उक्त पार्टीको जनसभालाई सम्बोधन गर्ने क्रममा त्यस्तो खालको राजनीतिक आरोप लगाएका हुन् ।

मोहन बैद्य किरणले नेतृत्व गरेको तत्कालिन नेकपा–माओवादी पार्टीमा सँगै काम गर्दा त्यहाँबाट क्रान्तिकारी गतिविधि बढाउँने संकेत नदेखेकाले आफुहरु क्रान्ति गर्नकै लागि नेपाल कम्युनिस्ट पार्टी पुर्नगठन गर्दै बैद्यलाई छाडेको प्रकाण्डले सम्बोधनको शुरुवातमै बताए ।

विप्लवको नेतृत्वमा रहेको नेकपा अहिले पनि क्रान्तिको प्रकृयामा रहेको तर्क गर्दै उनले आफ्ना पुराना राजनीतिक गुरु बैद्य र उनले नेतृत्व गरेको पार्टीबाट क्रान्तिको आशा गर्न नसकिने उनको भनाई थियो ।

तत्कालिक बैद्य नेतृत्वको नेकपा–माओवादीमा हुँदा आफुहरु क्रान्तिको तयारीमा जानुपर्ने पक्षमा र अहिले बैद्यसँग भएकाहरु छलफल, वहसकै प्रकृयामा सिमित हुन खोजेपछि एउटैं पार्टीमा बसेर आरोप प्रत्यारोप लगाउनु वा विवाद गर्नु राम्रो नभएकाले क्रान्तिकारी धारको नेतृत्व गर्दे अघिबढेको उ भन्दै प्रकाण्डले बैद्य नेतृत्वको पार्टीलाई क्रान्ति नगर्ने पक्षका भनेर चित्रण गरे ।

तर बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले भने प्रकाण्डको उक्त भनाई जस्तो स्थिति नभएको तर्क गरेको छ । उसले क्रान्ति आत्तिएर नहुँने भन्दै त्यसको तयारीका प्रकृयामा जुट्नुपर्ने बताएको छ ।

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा केन्द्रीय स्कुललिङ् विभागका सचिव समेत रहेका हस्तबहादुर केसीले हरपलसँगको फोन संवादमा भने–‘त्यो उहाँहरुले पहिले देखिनै भन्दै आएको कुरा हो । क्रान्ति इच्छा गरेर वा आत्तिएर हुने कुरा होइन, त्यसको निश्चित प्रकृया हुन्छ । हामी राजनैतिक, वैचारिक सबै खालको तयारीलाई मजबुत बनाएर जनताको मुद्धा सहित क्रान्तिकारी धारलाई मजबुत बनाउँने तयारीमा जुटेका छौं ।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रकाण्डले भने–‘आदर्णीय जनसमुदायका अगाडि के भन्न चाहन्छु भन्दा, किरण जी को नेतृत्वमा हामीले क्रान्ति देखेनौं, नदेखे.पछि धेरै संगै बसेर बिबाद गर्ने, आरोप प्रत्यारोप लगाउने गर्नु पनि देश र क्रान्तिको पक्षमा हुँदैंन भनेर २०७१ साल मंसिर ८ गते नेकपा पुर्नगठन गर्दै अलग भयौं ।’

केही समय पहिले चन्दा असुली तथा हिंसात्मक गतिविधिमा जोडिएको आरोपमा पक्राउ परेका उक्त पार्टीका नेता प्रकाण्ड अदालतको सफाया पाएपछि पछिल्लो चरणमा सार्वजनिक कार्यक्रम र छलफलमा सक्रिय देखिन्छन ।

सम्बोधनका क्रममा प्रकाण्डले देशमा निर्णायक क्रान्तिको आवश्यकता भएको बताए । प्रकाण्डले नेपाली जनयुद्ध र जनआन्दोलनमा नेपाली छोराछोरीले बगाएको रगत खेर जान नदिने बताए ।

वर्तमान सरकारलाई फासिवादतर्फ उद्यत रहेको भन्दै प्रकाण्डले नागरिकको सुरक्षा र समस्याका विषयमा कुनै चासो चिन्ता नभएको आरोप समेत लगाए ।

फाँसिवादी र दलाल सरकारका कारण देशमा राष्ट्रघात र जनघात तीव्र गतिमा भइरहेको बताउँदै उनले त्यो कदम तत्काल नरोकिए सबै जनता राष्ट्रिय मुक्ति सेनामा परिणत हुने भन्दै उनले चेतावनीसमेत दिए ।

पार्टी पुर्नगठनको पाँच वर्ष प्रवेशको अवसरमा उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पठाएको शुभकामना सन्देश समेत उनले पढेर सुनाएका थिए ।

प्रकाण्डले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाएर केपी–प्रचण्डको अगाडि सडकमा ल्याएर कारबाही गर्ने समेत बताए ।

उक्त सभालाई सम्बोधन गर्दै पुनर्गठित नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किराँतीले क्रान्तिकारी कम्युनिस्टहरूको आत्मगत परिस्थिति बलियो बनाउनु पर्नेमा जोड दिए ।

सभालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलले ओली र प्रचण्डमाथि जनताले प्रतिबन्ध लगाउने बेला आएको भन्दै उनीहरूले पनि ज्ञानेन्द्र शाहले झैँ सत्ता छाडेर भाग्नुपर्ने अवस्था आउन लागेको टिप्पणी गरें ।

नेकपामा प्रवेश गरेका माओवादी केन्द्रका पूर्वनेता तथा सामाजिक अभियन्ता नरबहादुर कार्कीले देशका सम्पूर्ण बुद्धिजीवीहरूले क्रान्तिको सही बाटो रोज्नुपर्नेमा जोड दिए ।

विप्लव नेतृत्वको पार्टीको पोलिटब्युरो सदस्य उभा भुजेलले सञ्चालन गरेको उक्त जनसभाको अध्यक्षता सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेले गरेका थिए ।