बाजुरामा भिरबाट लडेर ४५ बर्षीया महिलाको मृत्यु

मृतकको शवपरीक्षण हुँदैं

बाजुरा । जिल्लाको बडिमालिका नगरपालिका–९ बाउलीकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ।

मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ बाउलीकी ४५ वर्षीया दाबा साङ्मु गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।

मृतक गुरुङको शव साँफेमार्तडीको सडकमा आइतबार बिहान ४ः४५ बजेतिर स्थानीयवासीले फेला पारेको प्रहरीले जनाएको छ।

उनी शनिबार साँझ मार्तडीको गैरीबजारमा बलवीर गुरुङको घरमा पूजा सकेर फर्किँदै थिइन्। घर फर्किने क्रममा जिल्ला अस्पतालको डिलबाट लडेर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ।

मृतकको शवपरीक्षणका लागि अहिले जिल्ला अस्पताल बाजुरामा राखिएको प्रहरी प्रमुख भाटले बताए। रासस