लैङ्गिक हिंसा गर्ने अपराधीलाई कडा सजाय गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

महिला हिंसा विरुद्ध शून्य सहनशीलताको नीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लैङ्गिक हिंसाको अपराधमा संलग्न हुने जोसुकैलाई कानूनबमोजिम कडा सजाय दिन दृढ रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आज लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा शुभकामना सन्देश मार्फत त्यस्तो बताएका हुन् । उनले महिलामाथी हुने सबै प्रकारका हिंसाको अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

सन्देश मार्फत उनले भनेका छन–‘सरकार महिलाको हकअधिकार सुनिश्चित गर्दै महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा तथा विभेदको पूर्णरुपमा अन्त्य गर्न प्रतिबद्ध गर्छ । सरकारले महिला हिंसा विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ ।’

उनले भनेका छन–‘मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिताको प्रभावकारी कार्यान्वयबाट सबै प्रकारका हिंसा अन्त्यका लागि थप बल प्रदान गर्ने मैले विश्वास लिएको छु । सङ्घ, प्रदेश र स्थानीय तहका निर्वाचनबाट विभिन्न तहको नेतृत्वमा निर्वाचित भएकामध्ये ४१ प्रतिशत महिला नै छन, यो तथ्याङ्क दक्षिण एशिया र विश्वकै लागिसमेत प्रेरणादायी छ ।’

लैङ्गिक विभेदको अन्त्य गर्ने उल्लेख गर्दै उनले भनेका छन–‘प्रत्येक नेपाली महिलालाई विनालैङ्गिक भेदभाव समानवंशीय हक, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकलगायत मौलिक हक प्रत्याभूत भएको छ ।’

नेपाल मानव अधिकारको विश्वव्यापी घोषणा १९४८, राजनीतिक तथा नागरिक एवं आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अनुबन्ध १९९६ र महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धि १९७९ को पक्ष राष्ट्र भएको जनाउँदै त्यसको पूर्ण कार्यान्वयनमा सरकार रहेको उनले बताए ।