कपिलवस्तुमा प्रदेशसभा उम्मेदवारको टाउँकोमा गोली हानी हत्या

शंकास्पद २ पक्राउः अनुसन्धान जारी

कपिलवस्तु । प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बनेका कपिलवस्तुको शुद्धोधन गाउँपालिका ४, मोतिपुरका एक नेताको अज्ञात समूहको गोलीबाट मृत्यु भएको छ ।

प्रहरीका अनुसार प्रदेश सभा सदस्य निर्वाचनमा कपिलबस्तु क्षेत्र नं. १ ‘ख’बाट स्वतन्त्र उम्मेदवार दिपेन्द्र कुमार चौधरी (राजा बाबु)को हत्या भएको हो ।

राति करिब साढे १० बजे स्थानीयहरुबीच विवाद हुँदा त्यहाँ पुगेका चौधरीलाई अज्ञात समूहले घर नजिकै रहेको सडकमा गोली चलाएको स्थानीयहरुको भनाइ छ ।

घाइते चौधरीलाई तत्काल लबनी स्वाथ्य चौकीमा उपचार गर्न लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि मेडिकल कलेजमा पुर्याइएको थियो ।

२८ वर्षीय चौधरीको टाउकोमा गोली लागेको छ । मेडिकल कलेज भैरहवामा उनको लाश पोष्टमार्टमका लागि राखिएको प्रहरीले बताएको छ ।

उनलाई उपचारका लागि मेडिकल कलेज पुर्‍याउँदा मृत्यु भएको थियो । घटनास्थलबाट प्रहरीले गोलीका ३, ४ वटा खोका भेटिएको जनाएको छ ।

घटना किन भएको हो भन्ने खुल्न नसके पनि प्रहरीले शंकास्पद २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ । हत्यामा संलग्नको खोजीका लागि विशेष फोर्स परिचालन गरेको प्रहरीको भनाई छ ।