शिक्षामन्त्री पोखरेलद्धारा गुणस्तरिय शिक्षामा ध्यान दिन निर्देशन

व्यवसायिक शिक्षामा जोड

काभ्रे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षा क्षेत्रमा गुणस्तरियता खस्कदै गएको भन्दै त्यसमा ध्यान दिन शिक्षण संस्था र निकायहरुलाई निर्देशन दिएका छन् ।

आज काभ्रेको धुलिखेलमा सम्पन्न काठमाडौ विश्वविद्यालयको २४ औं दीक्षान्त समारोहमा बोल्दै मन्त्री पोखरेलले गुणस्तरिय शिक्षामा ध्यान दिन निर्देशन दिएका हुन् ।

उनले हातमा शैक्षिक योग्यता प्राप्त गरेको प्रमाणपत्र भएपनि व्यवहारीक रुपमा अयोग्य भएकाले मुलुकमा शैक्षिक बेरोजगारको समस्या बढेको भन्दै त्यसको समाधानका लागि पहिलो सर्त गुणस्तरिय शिक्षा भएको बताए ।

शिक्षा क्षेत्रमा लगानीकर्ताहरु व्यवसायीक र सेवा भन्दा बढि व्यापारीक ढंगले प्रस्तुत भएकाले तमाम खालका समस्याहरु आएको उनको भनाई छ । उनले शिक्षा क्षेत्रलाई व्यापारीकरण मुक्त बनाउनु पर्नेमा जोड दिए ।

उनले भने–‘शिक्षामा गुणस्तर खस्कदो छ, अप्राविधिक शिक्षाले बेरोजगार शिक्षितको संख्या बढ्दैछ, उच्च शिक्षाका लागि जिम्मेवारसंस्थाहरु आफ्नो कर्तव्य र जिम्मेवारबाट च्यूत हुदै जाने डरलाग्दो अवस्था बन्दै गरेको छ, यसमा हामीले ध्यान दिन जरुरी छ ।’

शिक्षाको पहुँच अझैं ग्रामिण क्षेत्रमा पुग्न नसकेको भन्दै उनले शिक्षालाई सबै नागरिकको पहुँचमा पुर्याउने सरकारको योजनामा सबै जिम्मेवार निकायहरुले भूमिका खेल्नुपर्ने धारणा राखें ।

अहिले शिक्षाको विकासका लागि खोलिएका संस्थाहरु कमाउमा केन्द्रीत भैदिएकाले समस्या आएको भन्दै उनले भने–‘कुनै अध्ययन, योजना रेखाङ्कन विना शिक्षा क्षेत्रमा लगानी गर्नेले यसलाई ब्यापारका रुपमा बुझेको देखिन्छ, अब शिक्षामा व्यापारीकरण तोड्नुपर्छ, शिक्षालाई योग्य जनशक्ति उत्पादनको व्यवसायिकरणमा जोडनु पर्छ ।’

शैक्षिक प्रमाण पत्रले मात्र मानिसलाई योग्य बनाउन नसकेको भन्दै उनले जीवन उपयोगी, व्यावहारी र गुणस्तरिय शिक्षाका लागि सबै सरोकारवाला निकायहरु जिम्मेवारबोधका साथ कर्तव्य निष्ठ भएर लाग्नु पर्ने बताए । उनले प्राविधिक शिक्षामा विशेष जोड दिनुपर्ने धारणा राखें ।

त्यसैगरी उकत दीक्षान्त समारोहको पहिलो चरणमा १ हजार ५ सय ५५ जना विद्याथी दीक्षित भएका छन् । हालसम्म मेडिकल शिक्षामा १३ हजार ७ सय १९ जना काठमाडौ विश्वविद्यालयबाट दीक्षित भइसकेको बताइएको छ ।