आजबाट शुरु भयो छठ पर्वः चार दिनसम्म अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्ने परम्परा

निरोगिता, सुख ,समृद्धि हुने जनविश्वास

काठमाडौं । अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिने पर्व छठ आजदेखि शुरु भएको छ । चार दिनसम्म सूर्यको पूजा गरेर यो पर्व मनाउने परम्परा रहेको छ ।

परम्परा अनुसार पहिलो दिन चतुर्थी (आज) अरबा–अरबाइन गर्ने चलन छ, यसको अर्थ हो आजबाट माछामासु ,लसुन, प्याज, कोदो, मसुरो जस्ता अशुद्ध मानिने वस्तु परित्याग गरी, शुद्ध भएर व्रत बस्ने । यसलाई हाय–खाय पनि भनिन्छ ।

त्यसैगरी छठको दोस्रो दिन (पञ्चमी) खरना गरिन्छ । खरना गर्ने विधिलाई पापको क्षय पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतीले यो दिन दिनभरि निर्जला व्रत बसेर राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) को प्रसाद ग्रहण गर्ने गरिन्छ, यसपछि वर्तालुले केही नखाई पूर्ण व्रत लिने गर्दछन् ।

त्यसैगरी तेस्रो दिन (षष्ठी)मा गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान तयार पारेको गुलियो खाने कुरा र फलफूल, माटोको हात्ती लगायतका सामानहरु ठूलो ढक्कीमा राखी स–परिवार धार्मीक गीत गाउँदै जलाशयमा पूजा गरि परम्परा अनुसार राखेर वर्तालुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्ने गर्छन् । साथै बर्तालुले आफ्नो हत्केलामा अक्षेता फूल सहित पिठार र सिन्दूर लगाएर अस्ताचलगामी सूर्यलाई अर्पण गर्दै डिल जाने गर्दछन ।

त्यसैगरी चौथो (अन्तिम) दिन पार्वण गरिन्छ, उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । बिहानै वर्तालुहरु जलाशयमा पगेर अघिल्लो दिनको क्रम दोहोर्याउँदै सूर्यलाई अर्घ दिन्छन् । त्यसपछि सूर्य पुराण श्रवण गर्ने र छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परा रहेको छ ।

छठमा प्रायः महिलाले व्रत वस्छन् भने पुरूषले उनीहरूको पुजा सामग्री भएको ढक्की टाउकामा बोकेर घरबाट जलाशय र जलाशयबाट घरसम्म लाने ल्याउने गर्छन ।

सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने जनविश्वास रहेको छ । यस पर्वको मुख्य विशेषता भनेको सत्य र अहिंसाप्रति मानसको रूचि बढाउँदै संसारका हरेक जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु हो ।

तराईका केही जिल्लामा (मिथिलाञ्चलमा) मात्र मनाइने यो पर्व अहिले काठमाडौं लगायत देशका अधिकाशं क्षेत्रमा साँझा पर्वको रुपमा मनाउने गरिएको छ ।

मिथिलाको कृषि संस्कृतिको प्रतीकको रुपमा रहेको यो पर्वमा समाजका विद्यमान उचनिच, धनी, गरीब, जातभात जस्तो सोचको अन्त्य गर्दै एउटै सांस्कृतिक पृष्ठभूमिमा सुर्यको पूजा अर्चना गर्दछन्, तसर्थ यो पर्वले समानताको सन्देश समेत बोकेको देखिन्छ ।