सधैँ छलफल र भेटघाटमा वेस्त नेताहरु कति समय आराम गर्छन त । हेर्नुहोस्, यस्तो छ वास्तविकता

बिज्ञहरूको सुझावः कार्यबोझ कम गर्न बिदा बस्नुपर्ने

काठमाडौं । सधैँ व्यस्त रहनुपर्ने प्रधानमन्त्री वा मन्त्रीजस्ता पदमा रहेकाहरूले समेत समय मिलाएर केही दिन बिदा बस्नुपर्ने पूर्वमन्त्री र सरकारी अधिकारीहरूले बताएका छन्।

पदमा पुगेपछि नेपालका अधिकांश नेताहरू हरेक दिन विभिन्न काम र कार्यक्रमहरूमा व्यस्त भइरहने र बिदा नलिने गर्दा कार्यक्षमतामा नकारात्मक असर पार्नसक्ने उनीहरूको बुझाइ छ।

निजामती कर्मचारी सहित अन्य क्षेत्रमा काम गर्नेहरूलाई कानुनमै बिदा तोकिएको भएपनि प्रधानमन्त्री र मन्त्रीका हकमा भने त्यस्तो छुट्टै कानुनी व्यवस्था नभएको अधिकारीहरू बताउँछन्।

अस्वस्थ भई केही दिनअघि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिँदा उनका चिकित्सकहरूले धेरै ‘दौडधुप’ लाई त्यसको कारण बताएका थिए। उनी केही दिन अस्पतालमा बसेर फेरि काममा फर्किसकेका छन्।

ओली मात्र होइन, निरन्तर काममा खटिने मन्त्री तथा राजनीतिक दलका नेताहरू बिरामी पर्दा चिकित्सकले दिने पहिलो सल्लाह हुने गर्छ, ‘धपेडी कम गर्नुस्।’ तर, पदमा पुगेपछि सार्वजनिक बिदा त परै जाओस्, महिनामा एक दुई दिन पनि नेताहरू बिदा बसेको देखिदैन।

बिदा बस्ने चलन नभएकाले प्रधानमन्त्री वा मन्त्रीहरूको शरीरमा जहिले पनि थकान र अनुहारमा व्यस्तताको बोझ देखिने गरेको ठान्छन्, एकजना पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनी।

उनले भने–नेपालको प्रधानमन्त्रीहरूलाई अहिले दीर्घकालीन सोच बारे कल्पना गर्ने समय नै हुँदैन । सधैँ मान्छे भेटेको भेटै गरेर फुर्सद हुँदैन। त्यसका लागि पायक ठाउँमा महिनाको दुई तीन दिन बस्ने खालको परम्परा र त्यसका लागि गेस्टहाउस चाहिन्छ।

त्यस्तै बोझ कम होस् भनेर २०५९ सालमा आफू अर्थमन्त्री हुँदा प्रधानमन्त्रीलाई बिदा मनाउन मिल्ने खालको एउटा सुविधासम्पन्न आरामगृह बनाउन तत्कालीन मन्त्रीपरिषद्‍मा प्रस्ताव नै लगेको उनले बताए।

तर, त्यसबेला लोहनीको प्रस्तावमाथि न त खासै छलफल भयो, न त्यसपछिका सरकारले नै त्यस्ता प्रस्ताव ल्याए। यद्यपी त्यसको आवश्यकता अझ बढेको ठान्नेहरू धेरै छन्।

सरकार वा राष्ट्रको नेतृत्व गर्नेहरूले कहिलेकाहीँ संवेदनशील विषयमा घण्टौँ सोचमग्न हुनुपर्ने हुँदा महिनामा केही दिन भए पनि बिदा लिनुपर्ने कतिपयको सुझाव छ।

सरकारी अधिकारीहरू पनि प्रधानमन्त्री र मन्त्रीहरूले केही दिन बिदा लिनुपर्ने आवश्यकता देख्छन्। तर, यसबारे कुनै पनि कानुनमा स्पष्ट व्यवस्था भने नगरिएको अधिकारीहरू बताउँछन्।

कतिपय सार्वजनिक बिदाहरू तोक्ने वा नतोक्ने निर्णय गर्नेमध्येको एक गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले निजामतीकै जस्तो कानुनमा नै व्यवस्था गरेर बिदा दिने चलन राजनीतिक नेतृत्वका लागि नभएको बताए।

उनले भने–‘राष्ट्रसेवकको हकमा जस्तो व्यवस्था नेताहरूका लागि छैन तर पदमा बहाल भएपछि सार्वजनिक बिदा त बिदा नै हुने भयो।’ कतिपय विकसित मुलुकका नेताहरूले भने बिदा लिने गरेका खबरहरू आउने गर्छन्।

आफूलाई तनाव भएका बेला केही नेपाली नेताहरू पनि बिदा मनाउने शैलीमै विभिन्न स्थान जाने भने गरेका छन्।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल कहिलेकाँही त्यसरी विभिन्न स्थानमा गएर एकान्त बस्ने गरेका छन्।

दिवंगत पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पनि आफूलाई तनाव हुँदा विराटनगरस्थित पुर्ख्यौली घर जाने गरेको बताइन्थ्यो।

केही नेताहरू आफैँ शान्त स्थानमा जाने गरेपनि त्यसले पद्धतीको स्वरूप नलिएकाले नेतृत्वमा रहनेहरूले कार्यबोझबाट मुक्ति पाउन केही दिन भएपनि बिदा बस्नुपर्ने बिज्ञहरूको सुझाव हुने गरेको छ। बीबीसीबाट