मन्त्रीको जिप र मोटरसाईकल ठोक्किदा तीन घाइतेः एकको अवस्था गम्भिर

उपचारका लागि घाइतेलाई काठमाडौं रिफर

कैलाली । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको बडैपुर सडक खण्डमा गत राति कार र मोटरसाइकल एक आपसमा ठोक्किदा भएको दुर्घटनाबाट तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार गत राति बा २ झ ३१२५ नम्बरको स्कारपियो जिप र से३प २४२० नम्बरको मोटरसाइकल आपसमा ठोकिदा जिपमा सवार दुई जनासहित मोटरसाईकल चालक घाइते भएका हुन् ।

दुर्घटना भएको जिप सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीको भएको प्रहरीबाट खुल्न आएको छ । जिप दुर्घटना हुँदा मन्त्री सोडारी भने जिपमा थिएनन् ।

गोदावरी नगरपालिका घर भएका जिपका चालकको भान्जा धोजेन्द्र शाही र भान्जी नाता पर्ने दश वर्षीया आयुश्मा शाही सहित जिपमा सवार रहेको अवस्था भएको उक्त दुर्घटनाबाट चालकका भान्जा र भान्जी दुबै घाइते भएका छन ।

त्यसैगरी दुर्घटना भएको मोटरसाइकलका चालक सुरेन्द्र चन्द पनि गम्भिर घाइते भएको बताइएको छ । चन्द गौरीगङ्गा नगरपालिका स्थानीय हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनाबाट गम्भीर घाइते मोटरसाइकलका चालक चन्दलाई धनगढीको माया मेट्रो अस्पतालमा उपचार गरिँदै थियो, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई काठमाडौं रिफर गरिएको छ । भने जिपमा सवार दुईको अवस्था सामान्य रहेको छ ।