यमपञ्चकको आज चौथो दिनः घर घरमा गाई र गोरुको पूजा गरिँदै

गाईको संरक्षणमा ध्यान दिनुपर्ने संन्देश

काठमाडौं । यमपञ्चकको आज चौथो दिन, धार्मिक शास्त्र अनुसार गोवर्धनपूजा । कार्तिक शुक्ल प्रतिपदा अर्थात् आजको दिन नेपाली समुदायमा द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको स्मरण गर्दै यो पर्व मनाइन्छ ।

नेपालीहरुले बिहानै आफ्नो घरको आँगनीमा गोवर्धन पर्वतको प्रतिमा (गाईको गोबरको) बनाएर पूजा गर्ने तथा घर वरपर सुद्ध राख्नको लागि वेलपत्रको तोरण टाँस्ने परम्परा चल्दै आएको छ ।

धार्मिक ग्रन्थअनुसार गोबर्धन पूजाको दिन बलिराजाको पनि पूजा गरिन्छ। त्यस्तै आजको दिन गाईलाई लक्ष्मीको रुपमा पूजा गरिन्छ भने, मानव जीवनमा सहजता गर्ने जनावर गोरुको समेत पूजा गर्ने परम्पर रहेको छ ।

आज बिहानै गाई, गोरुको पूजा गरी हरियो दुबो घाँस तथा अन्य अनुकुलको पदार्थ खुवाउँदै उनीहरुलाई स्वतन्त्र छाडिदिने गरिन्छ । लक्ष्मीको स्वरूप औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा उपयुक्त हुने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए।

आज रक्षा बन्धनको दिन हातमा बाँधेको डोरी काटेर गाईको पुच्छरमा बाँधिदिने प्राचलन रहेको छ । यसरी बाँध्दा सबै पाप तथा संकटहरुबाट पार पाइने तथा मृत्युपछि वैतरणी नदी तर्न सजिलो हुने धार्मिक विश्वास रहेको छ ।

गोवर्धन पर्वतको पूजाबाट प्रकृतिको संरक्षण गर्नुपर्ने र यसलाई विकृत पार्न नहुने सन्देश दिन खोजिएको प्रकृति संरक्षण अभियन्ताहरुको भनाई छ । त्यस्तै गाईको दुधदेखि पिसाव (गहुँत) सम्म स्वास्थ्यका दृष्ट्रिकोणले उपयोगी हुने हुनाले पनि गाईको पूजा गर्नु पर्ने तर्क विज्ञानसम्बत रुपमा उठेको छ ।

स्थानीय गाईको दूधबाट बन्ने दही र घ्यु पनि पोषिला हुन्छन्। गोबर र गहुँतमा धेरै प्रकारका रोग निको हुने अौषधीय गुण हुने भएकाले गाईको संरक्षणमा ध्यान दिनपुर्छ भन्ने संकेतिक रुपमा परम्परादेखि पूजा गर्ने गरिएको हो ।

आजको दिन राम्रो लगाउने, नाचगान गर्ने, दउसी खेल्ने, मिठो खाएर उत्सवका रुपमा मनाइन्छ । देउसीसँगै स्थानीय स्तरमा बालन, खैंजडी जस्ता भजन गाउने खेल्ने चलन पनि रहेको छ।