विराटनगरबाट प्रचण्डले भने–‘निर्वाचनमा गरेको घोषणा पाँच बर्षभित्र पुरा गछौं’

‘सरकार पुनःगठनको सम्भावना छैन’

विराटनगर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो पार्टी र उम्मेदवारहरुले निर्वाचनको समयमा गरेको घोषणा पाँच वर्षभित्र पुरा गर्ने विश्वास व्यक्त गरेका छन् ।

आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको उनले त्यस्तो बताएका हुन् । उनले सरकार विकास निर्माण र जनताका काममा केन्द्रीत भएको भन्दै भने–‘अब वर्षा पनि सकियो, सरकारको काममा तीव्रता आउँछ । राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ सरकार तीव्र गतिमा अघि बढिरहेको छ ।’

निर्वाचनमा जनतासँग भोट माग्दा गरेका प्रतिवद्धतालाई कार्यान्वयन गरिने भन्दै उनले सरकारले क्रमिक रुपमा कामहरु गर्दै गएको र पाँच बर्षसम्ममा क्रमस सबै पुरा गर्ने बताए ।

उनले अहिले सरकार पुनःगठन गर्ने कुनै सम्भावना नरहेको भन्दै सरकारले जनताका काममा ध्यान केन्द्रीत गर्दै त्यतातिर गति बढाउन मात्र जोड दिइएको तर्क गरे ।

उनले पाँच बर्षसम्म सरकारले जनपक्षिय काम देखाउँने भन्दै सरकारको पुन गठनको वहस अहिले आवश्यक नभएको प्रति संकेत गरे ।

एक प्रश्नमा जवाफ दिदै प्रचण्डले सरकार राष्ट्र र जनताको वृहत्तर हित र दीर्घकालीन फाइदा हुने काममा लागेको जनाउँदै वर्तमान सरकार काम गरेर लोकप्रिय बन्ने भएकाले लोकप्रियतालाई शब्दमा नखोज्न पत्रकारहरुलाई अनुरोध समेत गरेका थिए ।