पत्रकारमाथि दुर्ववहार गर्ने यातायात विभागका निर्देशक शाहले माफि मागे

सहयोगी भूमिका खेल्ने प्रतिवद्धता

काठमाडौ । सगरमाथा टेलिभिजनकि पत्रकार शिखा श्रेष्ठ र क्यामरा पर्सन अजय हाकुजुलाई समाचार संकलनका क्रममा दुर्व्यवहार गर्ने यातायात व्यवस्था विभागका निर्देशक श्रीचन्द शाहले माफी मागेका छन् ।

क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष जन्मदेव जैसी, महासचिव बाबुराम भुषाल लगायतका पत्रकारहरुको टोलीले निर्देशकसँग घटनाबारे सोधपुछ गर्ने क्रममा उनले आफुबाट गल्ती भएको भन्दै माफि मागेका हुन ।

पत्रकारहरुको टोलीले निर्देशक शाहलाई रिपोर्टिङका क्रममा पत्रकारमाथि दुर्व्यवहार गरेकोमा माफी माग्न र आइन्दा यस्ता व्यवहार नदोहोर्याउने प्रतिवद्धता व्यक्त गर्न अनुरोध गरेको थियो ।

संगठनका उपाध्यक्ष जैसीले आफ्नो संगठनले मुलुकी ऐन (फौजदारी र देवानी संहिता) संशोधनका लागि शुरुदेखि नै आन्दोलन गरिरहेको भन्दै निर्देशक शाहसँग त्यस्तो व्यवहारप्रति माफी माग्न र आइन्दा यस्ता घटना नदोहोर्याउने गरी प्रतिवद्धता जनाउन सुझाव दिएका थिए ।

पत्रकार जैसीले हरपल नेपाल डटकमलाई जनाए अनुसार ‘उक्त घटना दुखत भन्दै निर्देशक शाहले माफी (सरी) माग्दै आइन्दा यस्तो व्यवहार नगर्ने र पत्रकारहरुको आन्दोलनमा आफ्नो पनि ऐक्यबद्धता रहेको बताएका छन् ।’

उक्त संगठनका महासचिव भुषालले सार्वजनिक पदमा बसेपछि फोटो खिच्न अनुमति माग्नुपर्छ भन्नु र जथाभावी गालीगलौजमा उत्रनु प्रेस विरोधी हर्कत भन्दै त्यस्ता प्रवृति सुधार्नु पर्नेमा जोड दिएका थिए ।

मिडियाप्रति राज्यका कर्मचारी जिम्मेवार बन्न र यस्ता हर्कत नदोहोर्याउन आग्रह गर्दै कमल बुढा, भौतिक मल्ल, धनन्जय बुढा, करण बडाल, सुरज प्याकुरेल, शोभराज बराल लगायतका पत्रकारहरुले निर्देशकलाई सचेत गराएका थिए ।

यसैबिच निर्देशक शाहबाट दुर्ववहार भोगेका टेलिभिजन पत्रकार शिखा र अजयले आफुहरुप्रति भएको व्यवहारप्रति चासो दिएर खबरदारी गरेकोमा पत्रकारहरुलाई प्रति खुशी ब्यक्त गरेका छन् ।

उक्त संगठनका केन्द्रीय सदस्य सुरज प्याकुरेलसँग टेलिफोनमा कुरा गर्दै पीडित पत्रकारले ‘हामीमाथि भएको प्रेसविरोधी हर्कतका विरुद्ध सशक्त खबरदारी गरेकोमा धन्यवाद दिन्छौ’ भनेको बताइएको छ ।