बरिष्ठ पत्रकार हुमागाईको स्मरणमा श्रद्धाञ्जली सभाः जनपक्षीय पत्रकारीतामा अपूरणीय क्षती

हुमागाईको जीवनमा विविध पक्षको चर्चा

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), इच्छुक प्रतिष्ठान र क्रान्तिकारी पत्रकार महासंघको संयुक्त आयोजनामा आज बरिष्ठ पत्रकार रामचन्द्र हुमागाईको स्मरणमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

काठमाडौंको घट्टेकुलो स्थित इच्छुक प्रतिष्ठानको सभाहलमा सम्पन्न श्रद्धाञ्जली सभाका अधिकाशं वक्ताहरुले पत्रकार रामचन्द्र हुमागाईले जीवनकाल भर जनपक्षीय पत्रकारिता मार्फत महत्वपूर्ण भूमिका खेलेको बताए ।

पत्रकारीता तथा साहित्यका माध्यमबाट कम्युनिष्ट आन्दोलनमा उनले खेलेको भूमिका बारे वक्ताहरुले चर्चा समेत गरे ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले पत्रकार रामचन्द्र हुमागाईको तीनवटा व्यक्तित्वको चर्चा गरे ।

महासचिव किरणले पत्रकारिता, साहित्यक र कम्युनिष्ट क्रान्तिकारीमध्ये कम्युनिष्ट क्रान्तिकारी व्यक्तित्व नै मूख्य भएको भन्दै कम्युनिष्ट क्रान्तिकारी आन्दोलनको अभिष्ट पूरा गर्ने दिशामा उनले प्रतिबद्ध रुपमा अगाडि बढाएको बताए ।

त्यसैगरी देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालका अध्यक्ष तथा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सी.पी. गजुरेल गौरवले चौतर्फी रुपमा अवसरवाद र प्रतिक्रियावाद हावी भएको समयमा जनपक्षीय तथा क्रान्तिकारी आन्दोलनमा अविचलित रुपमा प्रतिबद्ध भएर पत्रकार रामचन्द्र हुमागाईले क्रान्तिको पक्षमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले क्रान्तिकारी तथा जनपक्षीय पत्रकारहरुका निम्ति हुमागाई अनुकरणीय व्यक्तित्व रुहेको भन्दै त्यही पदचाप पछ्याउनु नै उनी प्रतिको सच्चा श्रद्धाञ्जली हुने विचार राखे ।

त्यसैगरी नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बरिष्ठ पत्रकार हुमागाईले सिंगो जीवन पत्रकारिता पेशामा समर्पण गरेको भन्दै उनको संघर्षपूर्ण जीवनबाट पत्रकारिता क्षेत्रमा क्रियाशिल पछिल्लो पुस्ताले महत्वपूर्ण शिक्षा लिन सक्ने कुरा बताए ।

कार्यक्रममा रामचन्द्र हुमागाईका जेठा छोरा राजु हुमागाईले बुवाले विगत ३६ वर्षदेखि प्रकाशन गर्दै आएको नेपालभूमि साप्ताहिक निरन्तर प्रकाशनका लागि शब्दयात्रा प्रकाशनलाई हस्तान्तरण गरिएको र त्यसको निरन्तरताका लागि आफूहरुले आवश्यक भूमिका खेल्ने बताए ।

उक्त कार्यक्रम क्रान्तिकारी माओवादीकी केन्द्रीय सदस्य शारदा महतले सञ्चालन गरेकी थिइन भने कार्यक्रमको अध्यक्षता अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष तथा इच्छुक प्रतिष्ठानका अध्यक्ष इश्वरचन्द्र ज्ञवालीले गरेका थिए ।

कार्यक्रममा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीस, पार्टी पिविएम दिनेश शर्मा ‘सागर’, केन्द्रीय सदस्य प्रा.डा. जगदीशचन्द्र भण्डारी, केस हरिकृष्ण गजुरेल,  क्रान्तिकारी माओवादीका काठमाडौं इन्चार्ज सुरेश श्रेष्ठ, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, बरिष्ठ पत्रकार तथा लेखक नरेन्द्रजंग पिटर, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सान्तराम बिडारी, क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे, प्रगतिशील पत्रकार समाजका प्रतिनिधि प्रकाश थापा, रामचन्द्र हुमागाईका कान्छा छोरा रवि हुमागाई लगायतको उपस्थिति रहेको थियो ।