प्रहरीले खाली गरायोः सुकुमबासीको नाममा कब्जा भएको ६ बिघा ४ कट्ठा जग्गा

व्यक्तिगत जग्गा अतिक्रमण गरी नबस्न आग्रह

कैलाली । टीकापुर नगरपालिका– ९ पायलगाउँस्थित सुकुमबासीको नाममा कब्जा भएको जग्गा प्रहरी, प्रशासन र नगरपालिकाको पहलमा खाली गरिएको छ ।

पायलगाउँस्थित गोविन्दप्रसाद श्रेष्ठको ६ बिघा ४ कट्ठा जग्गा कब्जा गरी बसेकाहरूलाई प्रहरी प्रशासनले हटाएको हो ।

श्रेष्ठको व्यक्तिगत तथा मोहियानी हकदार लौटन चौधरी, जोगीलाल चौधरी र महादेव चौधरीले भोगचलन गर्दै आएको जग्गालाई ऐलानी भन्दै एक सय ४६ घरले पाल हालेर बुधबारदेखि कब्जा गरेका थिए ।

व्यक्तिगत जग्गा अतिक्रमण गरी अवैधानिक रूपमा नबस्न आग्रह गर्दै जग्गा खाली गराइरहेको टीकापुरका प्रहरी उपरीक्षक शिवबहादुर सिंहले बताए ।

उनले सुकुमबासीसँगको छलफलपछि उक्त जग्गा खाली गरिदिन आग्रह गरेको बताए । सुकुमबासीको नाममा उक्त जग्गामा दैलेख, बाजुरा, अछाम र सुर्खेतबाट आई विभिन्न व्यक्तिले टहरा बनाउने प्रयास गरेका थिए । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।