अझै खुलेन निर्मला प्रकरणको वास्तविकताः हत्या भएको आज सय दिन, सरकारका तिब्र आलोचना

अपराधी पत्ता लगाई कारवाहीको माग गर्दै सडकमा विरोध जारी

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार सय दिन पूरा भयो । अपराधी पत्ता लगाउन नसक्दा आलोचना खेप्दै आएको सरकारले सय दिन पूरा हुँदा पनि आलोचना खेपिरहेको छ ।

गत १० साउनमा घरबाट होमवार्क गर्न भन्दै साथीको घर पुगेकी निर्मलाको ११ गते उखुबारीमा शव भेटिएको थियो । शव भेटिएसँगै सरकारले बनाएको एउटा उच्चस्तरीय सहित ७ वटा अनुसन्धान टोलीले कुनै नतिजा दिन नसकेपछि सरकारको आलोचना चुलिएको थियो ।

सामाजिक अभियन्ताले निर्मलाको न्याय माग्दै सडकमा आन्दोलनका कार्यक्रम गर्दै आएको थियो । अभियन्ताले आन्दोलनलाई निरन्तरता दिँदै र उनको सम्झनामा शुक्रबार ललितपुरस्थित पाटनको कृष्ण मन्दिरमा दीप प्रज्वलन गर्ने आयोजना गरेको छ ।

यसअघि सडक र्‍याली, कविता वाचन, अनसन लगायत दबाबमूलक कार्यक्रम गर्दै आएका अभियन्ताहरुले साँझ ५ बजे कार्यक्रम गर्ने भएका हुन् ।

गत १० साउनमा निर्मलाको बलात्कारपछि हत्या भयो । घटनाको भोलिपल्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गर्न टोली बनायो र खटायो । इन्स्पेक्टर एकिन्द्र खड्काको टोलीले अनुसन्धान गर्न भन्दै डेढ सयभन्दा बढी स्थानीयलाई जिल्ला प्रहरी कार्यलयमा बोलाएर सोधपुछ गर्‍यो ।

प्रहरीले थप अनुसन्धान गर्न भन्दै जीवन घर्ती, दीपक नेगी, चक्र बडू, हेमन्ती भट्टलाई पक्राउ गरेर शारीरिक र मानसिक यातना दियो । यसै समयमा फेला परेसम्मका प्रमाण नष्ट गर्दै गयो । अनुसन्धानमा कमजोरी भएको भन्दै खड्का निलम्बितमा परे ।

निर्मलाको न्यायका निम्ती सामाजिक आन्दोलन चर्किदै जाँदा घटनाको चौँथो दिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले डिएसपी अंगुर जिसीलाई नेतृत्व बनाएर नयाँ टोली खटायो ।

डिएसपी जिसीको टोलीले २५ औँ दिनमा दिलीपसिंह बिष्ट प्रक्राउ गरी उनीलाई नै अभियुक्त भएको निष्कर्ष निकाल्यो । त्यति मात्रै होइन, गत ४ भदौमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिकसम्म गर्न गर्‍यो ।

तर, डिएनए टेष्टमा मेल नखाएपछि बिष्ट छुटे । तर, आफ्नो अनुसन्धानमा कुनै कमी नभएको बताउँदै विश्वस्त रहेको डिएसपी जिसी बताउँछन् । उनको अनुसन्धानमा सत्यता नभएको भन्दै निलम्बनमा परेका छन् ।

प्रहरीले बलात्कारका दोषी पत्ता लगाउन सकेन, उल्टै प्रमाण नष्ट गर्‍यो भनेर आक्रोश बढेसँगै एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा छानबिन समिति बन्यो । सुवेदी त्यस बेला विदेशमा रहेकाले एआइजी धीरु बस्नेतलाई त्यसको जिम्मेवारी दिइयो ।

तत्कालीन एसपी डिल्लीराज बिष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई भविष्यमा अयोग्य हुने गरी सेवाबाट हटाउन सो टोलीले गरेको सिफारिसअनुसार गृहले दुवैलाई बिहीबार सेवाबाट बिदा ग¥यो । एआइजी बस्नेत आफूहरू छानबिनमा नै रहेको बताउँदै आएका छन्  । तथ्य परिपक्व भएपछि विवरण सार्वजनिक गर्ने बताएका छन् ।

सिआइबीको पहिलो टोली विवादमा फसेपछि तत्कालीन एसएसपी ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा नयाँ टोली गठन भयो । टोली गठन भएको करिब दुई महिना भइसक्यो । ज्ञवाली बढुवा भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भए । टोलीका डिएसपी कमल थापाको नेतृत्व गरेको यो टोलीले अहिले पनि कञ्चनपुरमा बसेर अनुसन्धान गरिरहेको छ ।

महिला प्रहरीलाई स्थानीयले सूचना दिन सक्ने आँकलन गर्दै एसपी दुर्गा सिंहलाई कञ्चनपुर पठाइयो । उनको टोली कञ्चनपुरमा नै कार्यरत छ । उनी भन्छिन्, ‘अनुसन्धानको क्रममा थप सुचना संकलन गर्दै छौँ ।’

दिलीपसिंह बिष्ट पक्राउ परेको भोलिपल्ट स्थानीयले आन्दोलन सुरु गरे । आन्दोलन व्यापक भएपछि प्रहरीले गोली चलायो । त्यसपछि गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गर्‍यो । जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका १र१ डिआइजी र प्रदेश ७ का उपसचिव सदस्य थिए ।

समितिले एक महिनापछि प्रतिवेदन निकाल्यो । सोही आधारमा पाँच प्रहरी निलम्बनमा परे । दबाबपछि समितिको प्रतिवेदनसमेत सार्वजनिक भयो । तर, प्रतिवेदनमा अभियुक्त बारे केही संकेतसम्म दिएन । जसले समितिको आलोचना भयो ।

समितिले विशेष अनुसन्धान टोली बनाएर घटनाको अनुसन्धान गर्न सुझाव दिएको छ । आफूहरूलाई अपराधी पत्ता लगाउने भन्दा अनुसन्धानमा भएका गल्ती र बल प्रयोग घटनाको सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी मन्त्रालयले दिएको समितिका संयोजक मैनाली बताएका छन्।

प्रहरीमाथि नै अविश्वास हुन थालेपछि प्रहरी प्रधान कार्यालयले विशेष व्युरोको एक गोप्य टोली कञ्चनपुर पठायो । स्थानीय प्रहरीलाई समेत थाहा नदिइ टोलीले केही साता कञ्चनपुरमा बसेर सुचना संकलन गर्‍यो । त्यस टोलीले प्रहरीको कमजोरीबाहेक अनुसन्धानमा महत्वपूर्ण सुचनाको संकेतसम्म पाउन सकेन । प्रहरी अधिकारीको रुखो व्यवहारले प्रहरीमाथि स्थानीयको विश्वास नभएको निष्कर्ष टोलीले निकाल्यो ।

आसपासका सयौँको डिएनए परीक्षण तयारी

अनुसन्धानको टोलीले बालिका पन्त बलात्कारपछि हत्याको परिणाम देखाउन नसकेर आलोचना खेपिरहँदा सरकारले सय दिन पुग्नै लाग्दा घटना भएको आसपासका सयौँको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्त समेत डिएनए परीक्षणमा तानिने भएको प्रहरीले जनाएको छ ।

यसक्रममा गत मंगलबार डिएनए परीक्षण गर्न थप चार जनाको रगत प्रयोगशालामा पठाएको छ । अनुसन्धानमा विभिन्न कोणबाट धेरै शंका देखिएका व्यक्तिको डिएनए परीक्षण गर्न लागिएको कञ्चनपुर प्रहरीले बताउँदै आएको छ ।

निर्मला पन्त प्रकरण भएको सय दिनसम्म आइपुग्दा धेरै छानबिन समिति गठन भए । अनुसन्धानमा प्रहरीको कमजोरीसमेत पत्ता लगाउन गठित समिति अहिलेसम्म कुनै निष्कर्शमा पुग्न सकेको छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।