रौतहट अदालतको निर्णयः सिके राउतलाई थप १५ दिन थुनामा राख्न आदेश

राज्यविरुद्ध संगठित अपराध मुद्दामा अनुसन्धान जारी

रौतहट । स्वतन्त्र मधेशको नारा उठाउँदै राज्य विरुद्ध गम्भिर अभिव्यक्ति दिदै हिडेको आरोपमा पक्राउ परेका डा. सिके राउतलाई जिल्ला अदालत रौतहटले आज थप १५ दिन थुनामा राख्न आदेश दिएको छ ।

राज्यविरुद्धको संगठित अपराधको मुद्दामा गत २५ दिनदेखि थुनामा रहेका राउतसहित अन्य पाँच जनालाई जिल्ला न्यायाधीश प्रकाश श्रेष्ठको इजलासले त्यस्तो आदेश दिएको हो ।

राउतमाथी लागेको राज्यविरुद्धको संगठित अपराधको मुद्दामा आज भएको वहसपछि थप १५ दिन प्रहरी हिरासतमा राखेर उनको विषयमा अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

प्रहरीले अदालत समक्ष राज्यविरुद्धको अपराधको मुद्दामा पक्राउ परेका राउतलाई अनुसन्धान गर्न थुनाको लागि थप म्याद मागेको थियो । संगठित अपराधको मुद्दामा प्रहरीले अनुसन्धानका लागि ६० दिनसम्म मात्र थुनुवा म्याद पाउने कानुनी प्रावधान छ।

गत २५ दिनदेखि राउतसहित गठबन्धनका नेताहरू रौतहट जिल्ला संयोजक अशोक सिंह, वीरेन्द्र दास, जयप्रकाशकुमार साह, दिनेशलाल यादव जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहेका छन्।

स्वतन्त्र मधेश गठबन्धनका संयोजक राउतले पटक पटक तराई नेपाल होइन भन्दै मधेशलाई अलग्गै राज्य बनाउने अभिब्यक्ति दिँदै आएका थिए ।