पाकिस्तान–नेपाल बीचको सम्बन्ध जनस्तरसम्म जोडिएको छः राजदूत जावेद

भारतलाई असल छिमेकी बन्न सुझाव

काठमाडौँ । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले नेपाल र पाकिस्तानबीचको सम्बन्ध सधैँ राम्रो रहेको भन्दै दुई देशहरु एक अर्काका लागि सहयोगी राष्ट्रका रुपमा रहेको उल्लेख गरेका छन ।

आज पाकिस्तानी राजदूतावासमा आयोजित ‘जम्मु–काश्मिर विवाद र मानवअधिकार उल्लङ्नका घटनामा वृद्धि’ विषयमा प्रवचन कार्यक्रममा बोल्दै राजदूत जावेदले त्यस्तो बताएका हुन् ।

राजदूत जावेदले नेपाल पाकिस्तानको सम्बन्ध सरकारीस्तरमा मात्र नभई जनस्तरमा सुदृढ रहेको र त्यसलाई अझ मजबुत बनाउनु पर्ने धारणा राखें । उनले पाकिस्तानी सरकार एवम् जनताको तर्फबाट कठिन समयमा नेपालबाट प्राप्त साथ र समर्थनप्रति आभार समेत ब्यक्त गरें ।

उनले दुवै देशले एकअर्काका आन्तरिक मामिलामा अहस्तक्षेपको नीति अवलम्बन गरेको बताउँदै भने–‘जम्मु–काश्मिर समस्या समाधान संयुक्त राष्ट्र सङ्घको प्रस्तावअनुसार जनमतसङ्ग्रहका माध्यमबाट हुनुपर्छ, त्यो नै सहि समाधानको विधि हुन्छ ।’

उक्त कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक शास्त्रदत्त पन्तले काश्मिर समस्या दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रको समेत चासोको विषय भएकाले सबै मिलेर समाधानका लागि राष्ट्र सङ्घलाई घच्घच्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पत्रकार राजनसिंह कार्की, विश्वासमोहन आचार्य लगायतले समेत आफ्नो धारणा राखेका थिए । अधिकाशंले भारतलाई असल छिमेकीको भूमिका निर्वाह गर्न सुझाव राखेका थिए ।