चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनीद्धारा कोदारी राजमार्ग पुनर्निर्माण

नेपाली मजदुरलाई काममा

मेलम्ची । चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले छिमेकी मुलुक चीन जोड्ने कोदारी राजमार्गको पुनर्निर्माण सुरु गरेको छ। लार्चास्थित सुक्खा बन्दरगाहको पुनर्निर्माण सकेपछि सडक निर्माण सुरु गरेको हो।

भूकम्पले क्षति पु¥याएको सुक्खा बन्दरगाहको पुनर्निर्माणमा आएको चिनियाँ टोलीले नै सडक मर्मतको काम सुरु गरेको भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले बताए।

दुई वर्षदेखि पुनर्निर्माणमा खटिएको चिनियाँ ठेकेदार ताउ नेतृत्वको टोलीले नेपाली मजदुरलाई काममा लगाइरहेको श्रेष्ठले जानकारी दिए। उनका अनुसार भोटेकोसी बाढीले कटान गरेको ठाउँमा तारजाली भर्न थालिएको छ।

चिनियाँ ठेकेदारले नेपाली ठेकेदारको दुई स्काभेटर भाडामा लिएर इको रिसोर्टबाट काम थालेका छन्। कच्ची सडक ट्र्याकले मितेरी पुल जोडेपछि बाह्रबिसेको जुरे पहिरोबाट सडक फराकिलो पार्ने योजना छ।

तातोपानीसम्म कच्ची सडकले जोडिएको भए पनि बर्खाको पहिरोले दर्जनौँ ठाउँमा क्षति पु¥याएका कारण पुनर्निर्माणविना ठूला सवारी साधन चल्न नसक्ने श्रेष्ठले बताए। नेपाल–चीन सीमामा रहेको मितेरी पुल पुनर्निर्माण गर्ने दुवै देशबीच सहमति भइसकेको छ।

नेपालतर्फ रहेको लिपिङखोला, लार्चा, खोकुण्डोल, चाकु र बाह्रबिसे खुर्सानीबारीको पुल पनि बाढी–पहिरोले क्षतिग्रस्त बनेको छ। नेपाल–चीनका सरकारी अधिकारीले पटक–पटक संयुक्त र एकल रूपमा कोदारी राजमार्गको निरीक्षण गरिसकेका छन् ।

सडक निर्माणको प्रष्ट खाका र योजना आउन सकेको छैन । चिनियाँ भूमिखासादेखि मितेरी पुलसम्म सडक निर्माण सम्पन्न हुन अझै तीन महिनालाग्ने बताइएको छ । रासस