वडा अध्यक्षको समुहद्वारा एक परिवारमाथी आक्रमणः आठ घाइते

टाउँको र पिठ्युमा चोट

सिराहा । सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ३, राघोपुरमा स्थानिय यादव परिवारमाथि वडाध्यक्ष हरि कुसियतको संरक्षणमा एक समूहले आक्रमण गरेको पीडीतहरुको भनाई छ ।

स्थानीय हरेराम यादवसहित उनका घरपरिवारका अन्य सदस्यहरुमाथी यहि कात्तिक १ गते साँझ करिव ७ बजेतीर वडाध्यक्षको समूहले हमला गरेको त्यहाँबाट आलोक यादवले पीडितहरुसँगको कुराकानी पछि हरपल नेपाललाई जनाएका छन ।

श्रोतका अनुसार हरेराम यादवका परिवारजनहरुले दशैंको खसी काटेको भोज खादैँ गरेको अवस्थामा वडाध्यक्ष हरि कुसियतका समूहले उनलाई गालीगलौज गर्दै कुखुरी, रड, बाँसको लठीले प्रहार गरी घाइते बनाएको हो।

कुखुरी प्रहारबाट हरेराम यादवका घरपरिवारका सदस्यहरुको टाउको र पिठ्युमा चोट लागेको छ भने अधिकांशको टाउको फुटेको जनाइएको छ । घाईते हुनेमा हरेराम यादव, योगेन्द्र कुसियत, गैनाई कुसियत, ९० बर्षीया सिँगेश्वरी देवी, तिर्थलाल यादव, विन्दादेवी, लाल, राजकुमारी यादव लगायत रहेको जनाइएको छ ।

करिव चालीस जनाको समूहमा आएका मानिसहरुले हरेराम यादवपक्षका लाई कुटपिट गरी घाईते बनाएको र उनीहरुको मिर्चैयाको मंगलम अस्पतालमा उपचार गरिएको जनाइएको छ ।

स्थानीय निर्वाचनमा हरेराम समेत सोहि वडाको वडाअध्यक्षको उम्मेदवार थिए । उनी थोरै मतले वडाध्यक्षमा पराजय भएको र विकास निर्माणको लागि पटक पटक आवाज उठाउँदा वडाध्यक्ष हरि कुसियतसँग विवाद हुने गरेको बताइएको छ ।

वडाध्यक्ष कुसियत तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार बनेर निर्वाचित भएका हुन् भने हरेराम यादव संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार थिए ।