जनपक्षिय पत्रकारितामा संयुक्त मोर्चा बनाउन गजुरेलको निर्देशन

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल ‘गौरव’ले जनपक्षिय पत्रकारिता क्षेत्रमा पनि संयुक्त मोर्चा बनाउन निर्देशन दिएका छन् ।

उनले काठमाडौंमा क्रान्तिकारी पत्रकार महासंघको इच्छुक सांस्कृतिक प्रतिष्ठानको हलमा बुधवार आयोजित विशेष राष्ट्रिय भेलामा त्यस्तो बताएका हुन् ।

अध्यक्ष गजुरेलका अनुसार अमेरिकी साम्राज्यवादले युद्ध बजेटभित्र नै मेडिया बजेट छुट्याउने गरेको कुरामाथि प्रकाश पार्दै विश्वमा हाल चलिरहेका कर्पोरेट मिडिया यसकै ज्वलन्त उदाहरण भएको बताएका थिए ।

विज्ञापन, सम्मेलन, पत्रकार भेटघाट, अनुदान सहयोग र व्यक्तिगत खर्च आदि साम्राज्यवादीहरुले यी मिडियाहरुमा दिने गरेको बताए ।

त्यसैले पत्रकारिता क्षेत्रमा पनि क्रान्तिकारीहरुले संयुक्त मोर्चा बनाउनु जरुरी छ भन्दै गजुरेलले हालका कर्पोरेट मिडिया र ओली–दाहाल जस्ता दलालहरुको भण्डाफोर गर्न यिनका विरुद्ध मिडिया मोर्चा बनाउनु पर्ने आवश्यकतामा जोड दिए ।

पार्टीले निर्माण गरेको संयुक्त मोर्चाको सबैभन्दा राम्रो उदाहरण चीनमा रहेको तथ्य सार्वजनिक गर्दै उनले चीनमा क. माओले डा. सन यात्सेन रहँदा क्वोमिन्ताङ पार्टीसँग पहिलो पटक सहकार्य गरेको कुरा बताए ।

क्वोमिन्ताङ पार्टीको त्यति बेलाको चरित्र सामन्त तथा साम्राज्यवाद विरोधी प्रजातन्त्रवादी थियो र यसैको नेतृत्वमा चीनमा गणतन्त्र स्थापना भएको थियोे भन्दै नेपालमा भने आफूलाई कम्युनिस्ट भनेर नथाक्ने केपी ओली र पुष्पकमल दाहालहरु साम्राज्यवाद र विस्तारवादको दलाल भएका छन्, त्यसैले उनीहरुसँग संयुक्त मोर्चा हुनैसक्दैन ।

संयुक्त मोर्चालाई युद्धकालमा क. माओले सबैतिर लागु गर भन्ने गरेको कुरालाई स्मरण गर्दै गजुरेलले मुख्य दुश्मन चिन र जनतालाई एकतावद्ध पार भन्ने माओको मोर्चा सम्बन्धी नीति चीनका अस्पतालहरुमा आफ्नो परिस्थितिमा अनुकूल विरामीहरुले पनि अनुशरण गरेको बताएका थिए ।

उनका अनुसार ती विरामीका मित्रशक्तिहरुमा नर्स, डाक्टर र अस्पतालमा काम गर्ने कामदारहरु थिए ।

देशमा हुने क्रान्तिका बेला शक्ति सन्तुलन आफ्नो पक्षमा भए क्रान्ति जितिन्छ, छैन भने हारिन्छ भन्दै गजुरेलले शक्ति सन्तुलन क्रान्तिकारीको पक्षमा पार्न पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए ।

नेपालमा पनि राजा नभइ हुँदैन भन्ने पार्टीहरु एकपटक त गणतन्त्रको पक्षमा आए यो सबै शक्ति सन्तुलनको कारण नेपालमा गणतन्त्र आयो । यसमा मिडियाको भूमिका उल्लेखनीय छ ।