राजधानीमा देजमोद्धारा कर बृद्धीको विरोधमा प्रदर्शनः प्रहरी हस्तक्षेप, ब्यानर खोसाखोसको अवस्था

गजुरेलको आरोप: गृहमन्त्रीद्धारा मुलुकलाई गृहयुद्धमा धकेल्ने कुचेष्टा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले आज राजधानीमा सरकारले गरेको बढाएको महंगी, चर्को कर र बढ्दो सामाजिक अपराधहरुको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

सरकाले बढाएको चर्को कर तथा सामाजिक हिंसाको विरोधमा मोर्चाको आयोजनामा मंगलवार दिउँसो रत्नपार्कस्थित शान्तिबाटिकामा राखिएको विरोध प्रदर्शनमा प्रहरीले हस्क्षेप गरेको हो ।

झडपबाट केही प्रदर्शनकारीहरु सामान्य घाइते भएको मोर्चाले जनाएको छ । हरपल नेपालसँग कुरागर्दै मोर्चाका कार्यालय सचिव हरिकृष्ण गजुरेलले भने–‘प्रहरीले विरोध प्रदर्शनमा हस्तक्ष गरेपनि प्रदर्शन रोकीएन, चर्को स्वरमा राज्य विरोधी नाराहरु धन्कीरहें । हजारौं समर्थकहरुले विरोधप्रदर्शनलाई निरन्तर अघि बढाइरहेका थिए ।’

हरपल संवाददाताका अनुसार प्रहरीले प्रदर्शनकारीबाट महंगी नियन्त्रण गर,, महिला हिंसा बन्द गर्, करबृद्धि नियन्त्रण गर, जस्ता नारा लेखिएका काला व्यानर र झण्डा दर्जनौपटक खोस्न खोजे पनि असफल भएको देखिन्थ्यो ।

मोर्चाका सैयौ नेता कार्यकर्ताहरुको सहभागिता सम्पन्न प्रदर्शनमा जनविरोधी ऐन र कर लाद्ने ओली नेतृत्वको सरकारका विरुद्ध कालो जुत्तासमेत प्रदर्शन गरिएको थियो ।

विरोध प्रदर्शन पूर्व रुटिनअनुसार घण्टाघर, जमल, असन हुँदै ईन्द्रचोकमा पुगेर कोणसभामा परिणत हुने भनिए पनि झडप र ब्यानर खोसाखोस लामो समयसम्म चलिरहेपछि पूर्व निर्धारित रुट बदलेर भोटाहिटीको बाटोहुँदै ईन्द्रचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

विरोध प्रदर्शनको कार्यक्रमलाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सी.पी. गजुरेल ‘गौरव’ले प्रहरीहरुलाई अहिले गणतन्त्रको समय भएको भन्दै प्रहरीहरुलाई विवेक प्रयोग गर्न सुझाव दिएका थिए।

गजुरेलले देशमा गणतन्त्र ल्याउन आफूहरु दश वर्षे जनयुद्ध र १९दिने जनआन्दोलनको नेतृत्व गरेको र लडेको हुनाले वर्तमान गणतन्त्रमा आफूहरुको पनि हिस्सा र योगदान रहेको स्मरण गराउँदै प्रहरीहरुले राणाकाल र पञ्चायत कालमा जस्तो परिवर्तनका पक्षधर आन्दोलनकारी माओवादीहरुलाई सत्तामा बसेकाहरुले दिएको ठाडो आदेशमा दमन नगर्न भन्दै चेतावनी दिए ।

हालका गृहमन्त्री रामबहादुर थापाले आफ्ना नैतिक तथा वैचारिक मूल्यमान्यताहरु गुमाइसकेकाले देशका गणतान्त्रिक प्रहरीहरुले उनका गलत आदेशहरुको अन्धरुपले पालना गर्नु राम्रो नहुने पनि बताएका छन् ।

उनले थप चेतावनी दिंदै भने–‘यदि उनका आदेशहरुको अन्धरुपमा पालना हुन थाल्यो भने देशमा गृहयुद्ध भएर ठूलो खतरामा धकेलिने छ ।’

वर्तमान सरकारमा बहुमतको नमीठो दम्भ छ भन्दै गजुरेल भने–‘यो बहुमतको सरकारलाई सडकको आन्दोलनले बाँकी राख्दैन । सडक आन्दोलनले बहुमतको वैधानिक सीमा र दायरा सबैलाई निलेर अघि बढ्छ । राष्ट्रघात र जनघात गर्ने सरकार जनतन्त्रको धज्जी उडाउँदै फासिवादीकरण भइरहेकाले ती सबैको रक्षाका लागि जनता सडकमा उत्रने एक अनिवार्य तथा जनअनुमोदित अवस्थाको सिर्जना भएको छ ।’

गजुरेलले देशमा संघीयता लागु भइरहँदा काठमाडौंमा बसेर अरुण तेस्रो बेच्ने, भारतीय प्रमको सुरक्षाको नाममा भारतीय सशस्त्र कमाण्डो फोर्स नेपालमा भित्र्याउने, कोशी उच्च बाँध बनाउन सहमति गर्ने, नेपालको तराई क्षेत्र डुवानमा पारेर पानी जहाज चलाउने सपना बाँड्ने, भ्रष्टाचार, सिण्डिकेट, सुन तस्करी, ठेकेदार तथा माफियाहरुसँग मितेरी लगाउने, जनतामा चर्को कर असुलीका संहिताहरु निर्माण गर्ने तर यी जनविरोधी कदमहरुको विरोध गर्नेहरुविरुद्ध दमन गर्न राज्यसंयन्त्र प्रयोग गरेर फासीवादीकरणको बाटो अख्तियार गर्ने यो सरकारले देश अब क्रमशः गृह युद्धमा धकेलिरहेको बताए ।

विरोध प्रदर्शनका क्रममा आकाशिंदो महंगी नियन्त्रण गर, करवृद्धि खारेज गर, महिला हिंसा अन्त्य गर, बलात्कारीलाई सख्त कारबाही गर, जनविरोधी ऐनकानुन खारेज गर, भारतीय विस्तारवाद मूर्दावाद, अमेरिकी साम्राज्यवाद मूर्दावाद, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल जिन्दावाद, नेकपा (क्रान्तिकारी माओवादी) जिन्दावाद जस्ता नाराहरु लगाइएका थिए ।