दाङमा भदौदेखि शनिबार पनि कार्यालय खोलेर सेवा दिइने तयारी

बिहान ११ देखि दिउँसो २ बजेसम्म कार्यालय खुल्ने

तुलसीपुर । आगामी भदौ महिनादेखि शनिबार पनि दाङ जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने तयारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले व्यस्त दैनिकी भएका नागरिकको सेवालाई मध्यनजर गर्दै शनिबार पनि कार्यालय खोलेर सेवा दिने तयारी गरेको जानकारी दिए ।

भदौदेखि हरेक शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय सञ्चालन गरेर सम्पूर्ण सेवा प्रदान गर्ने उनले बताए।

जिल्लाका दशवटै स्थानीय तहलाई शनिबार कार्यालय सञ्चालन गर्नेबारे सुझाव दिन पत्राचार समेत गरिएको छ । रासस