आतंकवादको अभियोगमा आफ्ना पास्चरलाई थुनामा राखेको भन्दै अमेरिकाद्धारा टर्कीमाथी प्रतिबन्ध

टर्कीद्वारा कडा निन्दाः प्रतिवाद गर्ने भनाई

टर्की । टर्कीका एकजना न्यायाधीश र आन्तरिक मामिलासम्बन्धी मन्त्रीलाई प्रतिबन्ध लगाउने अमेरिकी निर्णयको टर्कीले कडा निन्दा गरेको छ।

आतंकवादको अभियोगमा अमेरिकी एकजना पास्चरलाई अंकाराले निरन्तर थुनामा राखेको भन्दै अमेरिकाले टर्कीका न्यायाधीश र आन्तरिक मामिला मन्त्रीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

टर्कीका विदेशमन्त्रालयले उसकै शब्दमा वासिङ्टनको शत्रुतापूर्ण अडान भन्दै त्यसको प्रतिवाद गर्ने जनाएको छ।

अमेरिकाले ती मन्त्रीहरूमाथि लगाएको यो प्रतिबन्धले अमेरिकामा भएका ती मन्त्रीहरूको सम्पत्ति रोक्का गरिदिएको छ भने अमेरिकी नागरिकको हिसाबले गर्न पाउने व्यापार व्यवसायमाथि पनि रोक लगाएको छ।

ट्रम्प प्रशासनले पास्चर एन्ड्रयू ब्रनसनलाई गरिएको व्यवहार अस्वीकार्य भएको पनि जनाएको छ। अमेरिकाको नर्थ क्यारोलाइनाका ती पास्चरलाई राजनीतिक समूहसँग सम्बन्धित भएको आरोपमा झण्डै दुई वर्षदेखि थुनामा राखिएको छ।

ब्रुनसनले आफूले कुनै गलत काम नगरेको बताएका छन्। टर्कीका राष्ट्रपति रिजेप तय्यिप एर्दोआनले उक्त मुद्दामा वासिङ्टनलाई इशाइ धर्मको प्रचारक र यहुदी मानसिकताको भनी आरोप लगाएका छन्।

ह्वाइट हाउसकी एक प्रवक्ता सेरा स्यान्डर्सले ती पास्चर अनुचित र अन्यायपूर्ण थुनाको पीडित भएको आफूहरूको विश्वास रहेको बताएकी छन्।

टर्कीले ब्रुनसनलाई रिहा गर्न अमेरिकाले गरेको मागलाई अस्वीकार्य भन्दै आफूले त्यसबारे प्रतिवादपूर्ण प्रतिक्रिया जनाउने बताएको छ।

टर्कीको विदेशमन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ-‘हामी अमेरिकी प्रशासनलाई यो गलत निर्णयबाट पछि हट्न आह्वान गर्छौं। कुनै विलम्ब नगरी हामी यो आक्रामक व्यवहारको प्रतिक्रिया जनाउँछौं।’

पत्रकारहरूसँग बोल्दै यसअघि स्यान्डर्सले भनेकी थिइन्, -‘हामीले ब्रुनसनले केही गलत गरे भन्ने कुनै प्रमाण देखेका छैन।उनले टर्कीका दुवै मन्त्रीले अमेरिकी पास्चरलाई पक्राउ गर्न नेतृत्वदायी भूमिका खेलेको बताइन्।’

स्यान्डर्सले यसबारे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना टर्कीका समकक्षी एर्दोआनसँग पटकपटक छलफल गरेको पनि बताइन्।

गत साता ट्रम्पले यदि टर्कीले ब्रनसनलाई तत्काल रिहा नगरे उसले प्रतिबन्धहरूको सामना गर्नुपर्ने चेतावनी दिएका थिए।

बीबीसीका मार्क लोयेनले अमेरिकाले उत्तर एटलान्टिक सन्धि संगठन नेटोका साझेदारलाई यसरी प्रतिबन्ध लगाउने कार्य यसअघि कहिल्यै नभएको बताएका छन्। बीबीसी