फेरिदैछ मुक्तकमैयाको जीवनस्तर: कैलालीमा पुनःस्थापन कार्यक्रम

स्वरोजगारमूखि तालीमले आर्थीक अवस्थामा सुधार

धनगढी । मालिकको घरमा कमैया भएर बस्दाको समयमा काठ र फुसले बनेको कच्ची घर टहरोमा बसेकी मुक्तकमैया सुन्दरी चौधरीले आफ्नो जीवनमा पक्की घरमा बस्न पाइएला भनेर कहिल्यै सोच्नु भएको थिएन । तर मुक्तिपछिका दिनमा भएको सचेतनासँगै अहिले उहाँको जीवनशैली फेरिएको छ ।

मुक्तिपछिका दिनमा श्रीमान् नरेश चौधरीले सिकेको डकर्मी तालीमको व्यावहारिक उपयोग गर्दै गरिएको कामबाट राम्रै कमाइ हुन थालेपछि उहाँको परिवारको जीवनशैली पनि फेरिन थालेको हो ।

“कच्ची घर टहरामा बसेर मालिकले अह्राएको काम गर्नु पर्दा आफ्ना दिन फेरिन्छन् भन्ने सोचिएको थिएन-उनले खुशी हुँदै भनिन-“मुक्तिपछिका दिनमा सीप सिकेर गरिएको कामले आम्दानी हुँदा सन्तुष्ट भएकी छु ।”

कमाइसंगै उनको धनगढीको पुरानो हवाई मैदानमा पक्की घर निर्माण अन्तिम चरणमा पुगेको छ । आफ्ना श्रीमान्को कामलाई सघाउँदै जाँदा सुन्दरी पनि अनुभवी डकर्मी बनेकी छन ।

आफैँसँग घर चुनाइ गर्ने सीप भएकाले घर निर्माणमा सामग्रीबाहेकको खर्च नलागेको सुन्दरीले बताइन् ।

“एउटा ठाउँमा पक्की घरको काम पाएकै बेला अर्को ठाउँमा घर निर्माणका लागि बोलावट भइहाल्छ, श्रीमती सुन्दरीले भनीन ।

आर्थिक समस्याकै कारण कुनै समयमा छोराछोरीलाई विद्यालय पठाउन सक्ने अवस्थामा नरहेका उहाँका चार छोराछोरी अहिले नजिकको विद्यालयमा गएर पढ्ने गरेका छन् ।

कैलालीको चौमालाका एक किसानको घरमा कमैयाका रुपमा विगतमा काम गरेका सुन्दरीको परिवार मुक्तिपछिका दिनमा धनगढीको पुरानो हवाई मैदानमा कच्ची घर बनाएर बसेको छ ।

अर्का मुक्तकमैया गोपाल चौधरीले किस्तामा विद्युतीय रिक्साको व्यवसाय शुरु गरेका छन । “रु चार लाखमा रिक्सा किनेर काम गरिरहेको छु, गोपालले भने-मासिक किस्ता तिर्न र घर खर्चको जोहो गर्न पुगेको छ ।”

उनले पनि विस्तारै आफ्नो पक्की घर निर्माण गर्ने सोच बनाउनु भएका छन । मुक्तकमैयाले पछिल्लो पटक गरिरहेको स्वरोजगारमूलक व्यवसायबाट आम्दानी वृद्धि हुँदा उनीहरुको जीवनयापन पनि पहिलेको भन्दा केही सहज बनेको देखिएको छ ।

धनगढीको पुरानो हवाई मैदानमा बसेका मुक्तकमैयालाई पुनःस्थापना जिल्ला समितिले प्रतिपरिवार पाँच धुर जग्गा उपलब्ध गराउने पहल थालेको भए पनि उनीहरुले अहिलेसम्म जग्गाको पूर्जा भने पाएका छैनन् । जग्गाको पूर्जा नपाउँदै पाँच धुर जग्गामा कतिपय पूर्वकमैया अहिले आफ्नो पक्की घर निर्माणमा लागेका छन् ।

पुरानो हवाई मैदानमा झण्डै ५० मुक्तकमैया परिवारको बसोबास रहेको छ । जिल्ला भूमिसुधार कार्यालयको तथ्यांकका अनुसार हालसम्म झण्डै चार हजारभन्दा बढी मुक्तकमैयालाई विभिन्न सीपमूलक र आयमूलक तालीम दिइएकोमा करीब ७० प्रतिशतले आफ्नो सीपको व्यावहारिक सदुपयोग गरेको देखिएको छ ।

मुक्तकमैयाले सिकर्मी, डकर्मी, सिलाइ कटाई, बंगुरपालन, कुखुरापालन, तरकारी खेतीलगायतका विषयमा तालीम पाउने गरेका छन् ।

शेरबहादुर देउवाको सरकारले विसं २०५७ साउन २ गते नेपालको कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङमा रहेको कमैया प्रथालाई अवैध घोषणा गर्दै कमैया मुक्ति घोषणा गरेको थियो ।

मुक्ति दिवसको अवसरमा मुक्तकमैयाले यहाँ विभिन्न कार्यक्रम गरी मुक्ति दिवस मनाएका छन् । कैलालीमा मुक्तकमैया परिवारको संख्या आठ हजार ९१० पहिचान भएकामा हालसम्म आठ हजार ४२९ मुक्तकमैया परिवारको पुनःस्थापन भइसकेको छ । अझै ४८१ जना मुक्तकमैया परिवारको पुनःस्थापना हुन बाँकी रहेको छ ।

सरकारले मुक्तकमैया परिवारको पुनःस्थापन कार्यक्रमअन्तर्गत मुक्तकमैयाको घर निर्माणका लागि जग्गा खरिदबापत प्रतिपरिवार रु दुई लाख, काठ खरिदका लागि रु एक लाख र घर मर्मतमा रु ५५ हजार उपलब्ध गराउँदै आएको छ । रासस