मंगलबारसम्म निरन्तर बर्षाको अनुमान: बाढी पहिरोबाट ११ बढीको मृत्यु

यस्तो छ, सरकारको तयारी

काठमाडौं।आइतबारदेखि शुरूभएको वर्षातका कारण बाढी, पहिरो र डुबानबाट मुलुकका विभिन्न स्थानमा गरी एघार जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले सोमबार बेलुका ७ वजेसम्म केन्द्रमा प्राप्त जानकारी अनुसार तीन जना घाइते तथा दुई जना बेपत्त भएको जनाएको हो ।

केन्द्रका अनुसार, कैलालीमा एक जनाको मृत्यु, एक जना घाइते, बाँकेमा दुई जनाको मृत्यु र एक जना वेपता, सिन्धुलीमा एक जनाको मृत्यु, रोल्पामा तीन जनाको मृत्यु, चितवनमा एक जनाको मृत्यु, पर्सामा एक जनाको मृत्यु, दुई जना घाइते र दुई जना वेपत्ता, महोत्तरीमा एक जनाको मृत्यु र काठमाडौँमा एक जनाको मृत्यु भएको छ ।

केन्द्रका शाखा अधिकृत प्रदीप राईले देशभरका घटनाको जानकारी राख्ने काम भएपनि सबै ठाउँबाट सूचना प्राप्त हुन नसकेको बताए ।

मुलुकभरि नै मनसुन सक्रिय रहने तथा मुलुकका अधिकांश भूभागमा हल्कादेखि मध्यम, केही स्थानमा भारी र एक दुई स्थानमा अत्याधिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार, मुलुकको पश्चिमी भूभागमा मङ्गलबारदेखि वर्षा कम हुने तथा असार २१ गतेदेखि सो क्षेत्रको मौसममा सुधार आउने छ ।

उनले भने “पूर्ण रुपमा सक्रिय मनसुन अहिले मुलुकको पश्चिमी भूभागबाट पर्वततर्फ सर्ने क्रममा छ, जसले गर्दा मध्य र पूर्वी नेपालमा मनसुन अहिलेको भन्दा थप सक्रिय हुने तथा केही स्थानमा भारी र एक दुई स्थानमा अत्याधिक वर्षा हुनेछ ।”

अरब सागर र बङ्गालको खाडीबाट आएको जलवाष्प, मनसुनी वायुको सक्रियता तथा मनसुनी न्यून चापीय रेखा नेपालको एकदमै नजिक रहेका कारण मनसुन अहिले पूर्ण रुपमा सक्रिय रहेको बताइएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार सबैभन्दा बढी भैरहवामा २२६।६ नेपालगञ्जमा २०६।९, सिमरा १६६, धनगढी १४०, दाङ १४१।४ वीरेन्द्रनगरमा ११६।९ मिलिमिटर वर्षा भएको छ ।

त्यसैगरी, काठमाडौँमा ४२ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।

सरकारको तयारी

विपद् व्यवस्थापनका लागि प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्, गृहमन्त्रीको अध्यक्षतामा कार्यसमिति, प्रदेशका मुख्यमन्त्रीहरुको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला व्यवस्थापन समिति र महानगरपालिका, उपमहानगरपालिका, गाउँपालिका प्रमुख तथा वडा अध्यक्षहरुको संयोजकत्वमा गठित विपद् व्यवस्थापन समितिहरु अहिले तयारी अवस्थामा रहेको बताइएको छ।

सरकारले विपद् व्यवस्थापनका लागि यसअघि सार्वजनिक गरेको १४ बुदे निर्णय अनुसार प्रदेश १ को इटहरी, प्रदेश ४ पोखरा र कर्णाली प्रदेशको सुर्खेतमा एक–एक वटा हेलिकोप्टरसहित खोज– उद्धार टोली तयारी अवस्थामा राखिने छ ।

त्यसैगरी, सरकारले यसअघि भौतिक सम्पत्ति, सडक–पूर्वाधार, खानेपानी र ढलमा पुग्नसक्ने सम्भावित क्षति तथा डुबानको जोखिममा रहेका वस्ती जोगाउन विपद् व्यवस्थापन समिति र सुरक्षा निकायहरुबीच समन्वय गरिने निर्णय गरेको थियो ।

अत्यावश्यक उपभोग्य बस्तु, उपकरण, औजारहरू, डुङ्गा, औषधि आदिको पर्याप्त व्यवस्थासहित विपद्को पूर्वतयारी गरिएको सरकारले जनाएको छ ।