ओली दाहाल एकतामा: क्रान्तिकारी माओवादी सैन्य अभ्यासमा

कपिलबस्तु । कपिलबस्तुको बाणगंगामा  नेकपा (क्रान्तिकारी माओवादी ) को सहायक संगठन क्रान्तिकारी युवा लीग–नेपाल प्रदेश नम्बर ५ को आयोजनामा सैन्य अभ्यास शुरु भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई दक्षिणपन्थी एकता भन्दै आएको बैद्य माओवादीका युवाहरुले कपिलबस्तुको बाणगंगा नगरपालिकाको एक स्थानमा गोप्य सैन्य तालिम शुरु गरेका हुन ।

तालिमको क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले उद्घाटन गरेका थिए । बुधवार तालिम उद्घाटन गरेका बैद्य बुधवार नै बुटवलमा युवा मार्च पास कार्यक्रममा सहभागी भएका थिए ।

तालिममा पश्चिम नवलपरासीदेखि बर्दिया सम्म १२ जिल्लाका युवाहरु आवाशीय रुपमा सहभागी रहेको स्रोतले जनाएकोछ । सो तालिममा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य परि थापा, नेता नगेन्द्र राई, पोलिटब्युरो सदस्य के.बी गुरुंग क्रान्तिकारी युवा लीग नेपालका केन्द्रीय अध्यक्ष अमिर मर्हजन,  सहित पूर्वजनमुक्ति सेना नेपालका कमाण्डर तथा सदस्यहरुले युवाहरुलाई प्रशिक्षण दिई रहेको स्रोतको दावी रहेकोछ ।

प्रशिक्षणमा सहभागीहरुलाई मार्सल आर्टसलगायतका युद्धकला सिकाइएको जनाइएकोछ । सो तालिममा युद्धकला बुझेका जानेका पूर्व लडाकुहरु समेत सहभागी रहेको बताइएको छ ।

देशैभरमा ५ नम्बर प्रदेशमा क्रान्तिकारी माओवादीको पकड भएको मानिन्छ । बैद्यबाट बिद्रोह गर्नु अघि नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले पनि कपिलबस्तुमा भेला गरी सो पार्टीको राष्ट्रिय भेला तथा तालिम गरेका थिए ।

नेकपा (क्रान्तिकारी माओवादी)ले भने त्यो सैन्य तालिम नभएको जिकिर गरेकोछ ।

बैद्य माओवादीका कपिलबस्तु ईञ्चार्ज समिरले सैन्य तालिम नभई सामान्य राजनैतिक बैचारिक प्रशिक्षण मात्र भएको दावी गरेका छन् ।