नगर प्रोफाइल तयार पार्दै बर्दघाट नगरपालिका

रवि पाण्डे नवलपरासी . नवलपरासीको बर्दघाट नगरपालिकाले भु – सुचना प्रणालीमार्फत नगरको प्रोफाइल एवम् नगर मानचित्र बनाउने कार्य शुरु गरेको छ । सो कामका लागि बिज्ञ सहितको टोली नगरका बिभिन्न वडाहरुमा सक्रिय रुपमा लागि परेका छन् । नगरले ज्योग्राफिकल इन्फर्मेसन सिस्टम – जि. आई .एस) मार्फत नगर प्रोफाइल तथा नगरको मानचित्र तयार गर्ने सो टोलीले ६ वटा वडाको नक्सा लिइसकेको बताइएकोछ । सो बिज्ञ टोलीले नगरको भौगोलिक अवस्था अध्ययन गरिरहेको जनाइएकोछ । टोलीले अध्ययन प्रतिबेदन तयार गर्ने बताइएकोछ । नगरपालिकाको आवधिक र दीर्घकालिन योजना बनाउनका लागि नगरको भु बनोटको अध्ययन आवश्यक रहेकाले सो जिआईएस नक्सा बनाउन लागिएको हो । सो कामको जिम्मा जेनिथ बि.पी कन्सल्टेन्सी बर्दघाटले पाएको छ । नगरबाट पाएको सो कार्यलाई बिज्ञ टोली ल्याएर सो कन्सल्टेन्सीले नगर प्रोफाइल बनाउनका लागि तीब्रताका साथ काम गरिरहेको जनाएको छ । टोलीले नगरपालिकाको भौगोलिक अवस्था यहाँको बिभिन्न किसिमका आकृतिको डिजिटल तथ्याँकमा तयार पार्नेछ । बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालका अनुसार नगरमा भएका ब्यवसायिक शैक्षिक स्वास्थ्य धार्मिक तथा आर्थिक एंवम् संचारका आधारमा तथ्याँक संकलन गरि प्रोफाइल बनाइनेछ । नगरमा के कति घरहरु छन् ? र ती घरहरुका अवस्था के छन् ? भन्नेबारे पनि प्रोफाइलबाट जानकारी लिन सकिने नगरप्रमुख बस्यालले बताए । नगर प्रोफाईलमा नगरको सिमाना, वडाहरुको सिमांकन तथा नक्सांकनको अवस्था समेत समेटिनेछन् । त्यस्तै नगरमा भएका सार्वजनिक सम्पति पाटीपौवा , संघसंस्थाका भवन ,मठमन्दिर ,सडक संजाल समेत सो प्रोफाइलमा समावेश हुने बताइएकोछ । सो प्रोफाईलमा बिभिन्न उद्योग तथा ब्यवसायिक क्षेत्र ,कृषि तथा आवास क्षेत्रको समेत मानचित्र तयार हुनेछ । सो कामका लागि ईन्जिनियर सविन बिसी, बिक्रम रेग्मी, सागर पाण्डे र अभिशेष कुवंरको टोलीले नगरको नक्सा बनाउने कार्यमा लागेको जेनिथ बि.पी .कन्सल्टेन्सीका प्रबन्ध निर्देशक बिक्रम पौडेलले जानकारी दिए । नगर प्रोफाइलमा नगरको रोजगारीको अवस्था, खानेपानी , स्वास्थ्य तथा पोषणको अवस्था ,बिभिन्न्न धर्म समुदायको तथ्याँक समेत समावेश हुने पौडेलले बताए । जि आइ.एस एक प्रकारको सफट्बेयर रहेकाले यसका माध्यमबाट लक्षित क्षेत्रको नापनक्सा तयार गर्न सकिन्छ ।