प्रदेशको पूर्वी प्रबेशद्धार बर्दघाट नगरपालिका संचार हबको रुपमा विकसित हुदै

नवलपरासी । प्रदेश नम्बर पाँचको पूर्वी प्रवेशद्धार नवलपरासीको बर्दघाटमा रहेको न्यू भिजन मिडिया प्रालिद्धारा प्रकाशित स्थानीय पत्र राष्ट्रिय साप्ताहिकले राष्ट्रिय पत्रकारिता दिवसको अवसर एवम् विश्वप्रेस स्वतन्त्रता दिवसको सन्र्दभमा स्थानीय सरोकारवालाबीच चियापान तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

सोमवार आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले प्रदेशको पूर्वी प्रबेशद्धार बर्दघाट नगरपालिका संचार हबको रुपमा विकसित हुदै गएको बताए । उनले पश्चिम परासीको सबै क्षेत्र भन्दा बर्दघाटमा संचारले फड्को मारेको तर्क गर्दै संचारमाध्यम विश्वसनीय हुनुपर्नेमा जोड दिए । नगरप्रमुख बस्यालले संचारमाध्यम जति विश्वसनीय हुन्छ त्यति नै ब्यवसायिक हुने औल्याए । उनले संचारकर्मीहरुको दक्षता बृद्धिका लागि तालिमको आवश्यकता माथि प्रकाश पारे । कार्यक्रममा नगरप्रमुख बस्यालले समाज रुपान्तरण भुमिका खेल्ने पत्रकारहरुका लागि नगरपालिकाले पत्रकारिता पुरस्कारको ब्यवस्था गर्ने उद्धघोष गरेका थिए ।

त्यस्तै कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक रविन्द्रबिक्रम हमालले संचारमाध्यमको दिगो ब्यवस्थापन जरुरी रहेको बताए । उनले संचारको दिगो ब्यवस्थापन विना पत्रकारहरुका स्थायित्व नहुने बताए । वडाध्यक्ष हमालले बर्दघाटमा रहेका संचारमाध्यमको दिगो ब्यवस्थापन र संचालन गर्न संचालकहरुसंग आग्रह समेत गरेका थिए । हमालले संचारमाध्यमले सबैको निगरानी र खबरदारी गर्नुपर्ने चर्चा गरे ।

त्यस्तै कार्यक्रममा रेडियो दाउन्नेका अध्यक्ष नारायण पाण्डे बर्दघाट खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष इन्द्र राना इन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री सुवेदी टाईम साकोसका अध्यक्ष रुद्रप्रकाश उपाध्याय, बर्दघाट बजार विकास समितिका अध्यक्ष शोभाकान्त कोइराला लगायतले बोल्दै पत्रिकाले स्थानीय स्तरका समाचारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय संघसंस्थाका प्रतिनिधि, कानुन ब्यवसायी पत्रकारलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम न्यू भिजन मिडिया प्रालिका प्रबन्ध निर्देशक रवि पाण्डेयको अध्यक्षता पत्रिकाका सम्पादक बोल्गा नेपालको संचालन ब्यवस्थापक पप्पु रेग्मीको स्वागतमा भएको थियो ।