प्रजिअ राना रुपन्देही, मैनाली कारागार ब्यवस्थापन र नवलपरासीको प्रजिअमा लामिछाने आउदै

रामग्रामः नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रमुख जिल्ला अधिकारीमा देवेन्द्र प्रसाद लामिछाने आउने भएका छन् । गृहमन्त्रालयले ६० जिल्लामा प्रजिअ सरुवा गरेसंगै बाँकेका सहायक प्रजिअ लामिछाने नवलपरासीमा कायम मुकायम प्रजिअ बनाइएको हो ।

 

त्यस्तै नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाको रुपन्देहीमा सरुवा भएको जनाइएको छ । उनी नवलपरासीमा तीनै तहको निर्वाचन गराउने सफल प्रजिअ समेत मानिएका छन् । त्यसैले उनलाई रुपन्देहीको जिम्मा दिइएको बताइएको छ । त्यस्तै रुपन्देहीका प्रजिअ हरिप्रसाद मैनालीको कारागार ब्यवस्थापन विभागमा सरुवा भएको बताइएकोछ । मैनाली नवलपरासी हुदाँ मधेश आन्दोलनको सफल ब्यवस्थापन गर्न सक्ने प्रशासकको रुपमा चिनिएका थिए । मधेश आन्दोलनमा नवलपरासीमा त्यस्तो दुखद घटना नभएकाले पनि उनलाई कुशल प्रशासकका रुपमा जिल्लामा हेरिएको थियो । त्यसपछि उनी कास्की जिल्लाको प्रजिअ हुदै रुपन्देहीमा आएका थिए । रुपन्देहीमा पनि उनले संघीयता कार्यान्वयनको कार्य प्रदेश राजधानीको मुकाम ब्यवस्थापन सम्ममा निकै मेहनत गरेको बताइएको छ । सरल मिजासका राना र मैनाली नवलपरासीमा रहदाँ सबै समस्याको समाधान गर्न संयोजन गर्ने खुबीका कारण कहिल्यै विवादमा आउनन् । त्यस्तै मैनाली र राना दुवै जना नेपाल सरकारका सहसचिवस्तरका रहेका छन् । त्यस्तै नवलपरासी बर्दघाट सुस्ता पुर्वका का.मु. प्रजिअ शम्भुप्रसाद मरासनीको गृहमन्त्रालयमा सरुवा भएको छ । उनी उपसचिव हुन । उनको स्थानमा बर्दघाट सुस्ता पूर्वमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी महेश आचार्य आउने बताइएकोछ ।