के सिकाइन्छ विद्यालयमा ? विद्यार्थीलाई गाँजा खान सिकाउने यि कस्ता शिक्षक ?

विद्यार्थी गाँजाले बेहोस: शिक्षक प्रहरी खोरमा

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका, १ जलवीरेमा रहेको ब्रह्मायणी इंग्लिस बोर्डिङ स्कुलका एक शिक्षकले खुवाएको गाँजा र भाङ लागेर तीन विद्यार्थी २४ घण्टा बेहोश भएपछि बुधबारदेखि सुरु भएको अन्तिम परीक्षा प्रभावित भएको छ।

शिक्षकले जानाजानी दिएको गाँजाले कक्षा पाँचमा पढ्ने तीन बालक बेहोश भएका हुन् ।

बलेफी गाउँपालिका–१ जलवीरेमा रहेको ब्रह्मायणी इंग्लिस बोर्डिङ स्कुलमा पढ्ने १२ वर्षका कुन्दन थापा, दीपेश थापा र १३ वर्षका सन्देश सुनारलाई शिक्षकले तरकारीमा गाँजा र भाङ मिसाएर खुवाएका थिए ।

लामो समय बेहोस भएका कुन्दन थापालाई धुलिखेल अस्पताल लगेर उपचार गरिएको छ। दुई विद्यार्थीको उपचार जलवीरेमै भएको थियो ।

विद्यार्थीलाई गाँजा खुवाएर गलत कार्य गरेको भन्दै तीन शिक्षकलाई जलवीरे प्रहरीले पक्राउ गरेको छ।

शिक्षक सुरज बुढाथोकी, रोशन कार्की र समन राना मगरलाई प्रहरीले पक्रेको हो। बुढाथोकी भक्तपुर, कार्की रामेछाप र रानामगर महोत्तरीका हुन् ।

शिक्षकत्रयलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद खरेलले बताए। शिक्षक गाँजाले लठ्ठेकै अवस्थामा विद्यार्थीलाई पढाउने गरेको अभिभावकत्रय कुश थापा, चिनलाल सुनार र दीपक थापाले बताए। 

घटना लुकाउन बोर्डिङ स्कुलका सञ्चालक दिनेश खड्का, राम खड्का र राजु श्रेष्ठले बेहोस विद्यार्थीलाई विद्यालयबाट बाहिर निस्कन दिएका थिएनन्।

आफ्ना बच्चा नआएपछि अभिभावकले खोजी गर्दा बेहोश अवस्थामा भेटेका थिए। अभिभावकले तुरुन्त खबर गरेपछि प्रहरीले शिक्षकलाई पक्रेको थियो। नयाँ पत्रिकाबाट