बलात्कारीलाई मृत्युदण्डको सजाय माग्दै संसदहरू

सांस्कृतिक विचलन बढेको भन्दै चिन्ता व्यक्त

हेटौँडा । संसदहरूले प्रदेश नं ३ को प्रदेश सभा बैठकमा बोल्दै बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका छन ।

आजको उक्त बैठकमा विशेष समय लिदैं बोल्ने अधिकांश संसदहरूले सामाजिक अपराध नियन्त्रणका लागि कडा कानूनी व्यवस्था ल्याउनु पर्ने भन्दै त्यस्तो माग गरेका हुन्।

उक्त बैठकमा नौजना सांसदले विशेष समय लिएर बोलेका थिए । उनिहरूले भूकम्पपीडितका समस्या, प्रदेश राजधानीको स्थान र नामकरणका विषयमा समेत आफ्नो धारणा राखे ।

बैठकमा नेपाली काँग्रेसका संसद जीवना डंगोलले भने-“बाल-बालिकाको बलात्कार जस्तो अमानवीय क्रियाकलाप गर्ने अपराधीलाई मृत्युदण्डको सजाय हुनुपर्छ ।”

उनले बालबालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिनु पर्नेमा जोड दिएका थिए ।

उनले नेपालमा पछिल्लो समयमा सांस्कृतिक विचलन बढेको भन्दै चिन्तासमेत व्यक्त गरे ।

त्यसैगरी राप्रपाका संसद रीता माझीले गाई काट्न हुन्छ भनी सञ्चार माध्यममा आएको विषयमा सदनको ध्यानाकर्षण गराए ।

त्यसैगरी बैठकमा बोल्दै नेपाली काँग्रेसका संसद बलराम पौडेलले उपसभामुख राधिका तामाङबाट गाई काट्न हुन्छ भन्ने अभिव्यक्तिबारे सदन मार्फत जवाफको माग गरे ।

त्यसैगरी बैठकमा बोल्ने संसदहरूले प्रदेश राजधानी तोक्ने विषय र नामाकरणको विषय समेत चाँडै टुंगो लगाउनु पर्ने धारणा राखेका थिए ।

उक्त बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गरेका थिए ।