राष्ट्रपतिमा वाम गठबन्धबाट भण्डारी दोहोरिने संकेत: काँग्रेसको तयारी देखिएन

फागुन २९ गते राष्ट्रपति निर्वाचनको मिति तय

काठमाडौं । भावि राष्ट्रपतिका लागि प्रतिनिधिसभा/प्रदेशसभाको निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमाले र माओवादी केन्द्रको साझाँ उम्मेदवार हुने संकेत देकिएको छ ।

दुई पार्टीबीचकॅ सत्ता गठबन्धनसँगै पार्टी एकिकरणको अभ्यास बाक्लिएसँगै पछिल्लो समयमा दुई दलका शिर्ष नेताहरूले सहमतिमा सबै विषय टुङ्गाउदै आएका छन् ।

दुई दलको सहमति बढेसँगै राष्ट्रपति भण्डारीले आफुलाई दोहोर्‍याउनका निम्ती पहल समेत थालेकी छन्।

एमालेबाट २०७२ कात्तिक कात्तिक ११ गते राष्ट्रपतिको पदभार ग्रहण गरेकी वर्तमान राष्ट्रपति भण्डारीलाई नै फेरि राष्ट्रपतिको उम्मेदवार बनाउने मनस्थितिमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन्।

यस विषयमा एमालेमा लगभग सहमति बनिसकेको एमालेका नेताहरूले बताउने गरेका छन्।

राष्ट्रपति र उपराष्ट्रपति दोहोर्‍याउने सन्दर्भमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको श्रोतबाट खुल्न आएको छ ।

निर्वाचन आयोगले फागुन २९ गते राष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ। जसका लागि २१ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक भएको छ।

यहीँ कार्यतालिकालाई मध्यनजर गर्दै एमालेले मनोनयन दर्ताको एकदिन अगाडि नै राष्ट्रपतिको उम्मेदवार तय गर्न स्थायी कमिटी बैठक बोलाएको छ।

एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले एमालेका तर्फबाट अहिलेकै राष्ट्रपति दोहोर्‍याउने सम्भावना रहेको स्विकार्छन्।

त्यसको औपचारिक निर्णय भने स्थायी कमिटीले गरेर टुङ्ग्याउने नेम्वाङले बताए।’यस विषयमा औपचारिक रुपमा निर्णय भएको छैन। २० गतेसम्म स्थायी समितिले निर्णय हुनेछ’ उनले भने।

एमालेबाट राष्ट्रपतिका लागि अन्य नेताहरूले इच्छा नदेखाएपछि र इच्छा देखाएका नेताको नाममा सहमति नजुट्ने भएपछि भण्डारी दोहोरिने लगभग निश्चित जस्तै छ।

संघीय संसदमा पहिलो स्थानमा रहेको एमालेबाट राष्ट्रपतिको उम्मेदवार बन्ने र उक्त उम्मेदवारीमा माओवादी केन्द्र र फोरमको समर्थन रहने सम्भावना भएकाले पनि अब एमालेबाट राष्ट्रपतिको उम्मेदवार बन्ने व्यक्ति निर्वाचित हुने निश्चित जस्तै छ।

संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि खुल्ला रुपमा तयारी गरेको समेत देखिएको छैन।

संघीय संसदमा एमालेको १४८, माओवादी केन्द्रको ६५ र फोरमको १८ सिट छ। त्यस्तै राष्ट्रपतिका मतदाता रहेका प्रदेशसभा सदस्यमा एमालेबाट २४३, माओवादीबाट १०८ र फोरमबाट ३७ सदस्य रहेका छन्।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसदका दुवै सदनका सदस्यहरू प्रदेशसभाका सदस्यहरूले पनि मत हाल्नेछन् तर उनीहरूको मतभार भने फरक हुने व्यवस्था रहेको छ।