आज रंगहरूको पर्व होली: कलाकारहरू कसरी मनाउदै छन त होली ? विस्तृतमा हेर्नुहोस्

सद्भाव र प्रेमको पर्व फागु पूर्णिमा

काठमाडौँ । आज होली अर्थात् रङ्गहरुको पर्व फागुन पूर्णिमा । आजको दिन रंगहरू एक आपसमा लगाएर सद्भाव बढाउने गरिन्छ ।

होली पर्वलाई विभिन्न मिडिया हाउसदेखि घरानिया परिवारलेका साथै कलाकारदेखि राजनीतिज्ञसम्मले रंग साँटेर मनाउने गर्दछन ।

होली विषेश कार्यक्रम आयोजना गरेर त्यहाँ सेलिब्रेटीदेखि नेतासम्मलाई निम्त्याइने गरिन्छ । यो दिन कतिपय सेलिब्रेटीलाई बिहानैदेखि होली कार्यक्रमले भ्याईनभ्याइ हुने गरेको छ भने कतिपयले आफै होलीका कार्यक्रम समेत राख्ने गरेका छन् ।

होलीको सन्दर्भमा कलाकारहरूले यस पटक कसरी मनाउदैछन ? विभिन्न समाचार श्रोतहरूबाट संकलन गरिएको सेलिब्रेटीको होलीको योजना सम्बन्धी जानकारी यस्तो छ ।

करिस्मा मानन्धर (अभिनेत्री)

होली प्रत्येक बर्ष मेरा लागि बिषेश हुने गरेको छ । हरेक बर्षझै यसबर्ष पनि होली विषेश कार्यक्रम राखेकी छु । १२ बजेदेखि ४ बजेसम्म घरमै होली बिषेश राखिएको छ । नेता, कलाकार, पत्रकार सबैलाई होलीको निम्तो दिएकी छु । राम्रै जमघट हुन्छ होला । श्रीमान् बिनोदजी को जन्मदिन प्रत्येक बर्ष यसै दिन सेलिब्रेट गर्ने गरेकी छु । बर्षभरीका दुःख आज सबैसँग रङ्गसँग रङ्ग मिसाउँदै साट्नेछु ।

निर्मल शर्मा ‘गैडा’ (कलाकार)

हिन्दुहरुको प्रमुख चाँड मानिन्छ होली । फागुनमा पर्ने पूर्णिमाको दिन मनाइने यो पर्व रङ्गहरुको पर्व हो । यो दिन एकअर्कामाथि विभिन्न रङ्गको बर्षा गर्ने गरिन्छ । साना नानीदेखि बृद्धबृद्धासम्म रङ्गमा रमाउने गर्छन् यो दिनमा । युवा–युवतीले गीत गाउँदै नाच्दै होली विषेश बनाउने गरेका छन् । म पनि यसपालीको होली धुमधामसँग मनाउने तरखरमा छु । यो होलीमा फागु खेल्नकै लागि २–३ वटा टिभी, रेडियो र अभिनेत्री करिश्मा मानन्धरबाट निम्तो आएको छ । जान्छु र रमाइलो गर्छु ।

सञ्चिता लुइँटेल (अभिनेत्री)

मेरो मनपर्ने चाँड होली हो । यो विशेष पनि लाग्छ । रङ्गहरु खेल्दै रमाइलो गर्ने यो दिन घरमा ८ बजेदेखि ११ बजेसम्म होलीको कार्यक्रम राखेकी छु । स्कूल, कलेजका साथीहरु र छिमेकीलाई पनि निम्त्याएकी छु । टिभी फिल्मी, करिस्मा दिदी लगायत धेरै ठाउँबाट होलीका लागि निम्ता आएको छ । घरमा होली सकिएपछि भ्याएसम्म सबै तिर जान्छु । होलीले खुसी हुने, भेटघाट गर्ने, माया साट्ने र रमाइलो गर्ने अवसर दिलाउँछ ।

दीपाश्री निरौला (अभिनेत्री–निर्देशक)

होलीका योजना धेरै छन् । किनभने धेरै ठाउमा होली खेल्न बोलाइएको छ । टिभी फिल्मी, अभिनेत्री करिश्मा मानन्धरको घर लगायत । पहिले घरबाटै सुरु गरौ भन्ने योजना पनि छ । गोपीकृष्ण र करिश्मा दिदीको घरमा जान्छु होला । बाटोको विभिन्न स्थानमा आयोजना भएका होलीमा पनि सरिक हुन्छु । होली मलाई धेरै मनपर्छ । रङ्ग छ्याप्न, पानी हाल्न सबै मनपर्छ ।

रजनी केसी (अभिनेत्री)

रङ्गहरु मनपर्ने भएकोले पनि यो चाँड महत्वपूर्ण लाग्छ । होलीले मनोरञ्जनका साथ साथै प्रेमको आभास दिन्छ । एक अर्काेलाई रङ्गको वर्षा गर्दै दुःख भुलेर सबैसँग रमाइलो गर्न पाइन्छ । धेरै समय भेट नभएका साथीभाईसँग भेट हुन्छ । नजिकका साथीहरुलाई आफ्नो घरमा बोलाएकी छु । होली खेल्न धेरै ठाँउबाट निम्तो आएको छ । तर म फ्यामिली र नजिकका मानिसहरुसँग मात्र मनाउँछु । बाहिरको कार्यक्रममा जाँदिन ।

सुरेन गौतम (गायक)

तिहार पछिको सबैभन्दा रमाइलो लाग्ने चाँड होली हो । मन मिल्ने साथीसँगलाई रङ्ग छ्यापेर नाचगान गर्दै यो बर्षको होली मनाउने योजना थियो । तर परिवारका सबै सदस्य पाल्पा गएकोले घर कुरुवा भएको छु । यो दिन घरमै बसेर केही अध्यायन गर्ने विचार छ ।

केकी अधिकारी (अभिनेत्री)

होलीले मानिसलाई रङ्गीन हुन सिकाउँछ । जीवन यस्तै हुनुपर्छ जस्तो लाग्छ । सबै दुःख बिर्सिएर रङ्गसँग रमाउने चाँड हो होली । यसपालीको होली प्रदर्शनमा आउन लागेको मेरो चलचित्र ‘हुर्रे’ र आफैले बनाएको चलचित्र ‘कोहोलपुर एक्सप्रेस’को युनिटसँग मनाउने योजना छ ।

स्वेता खड्का (अभिनेत्री)

मेरो मनपर्ने पर्व हो । परिवार र साथीसँग रङ्ग खेल्दै मनाउन मनपर्छ । मेरो चलचित्र ‘कान्छी’ अहिले चलिरहेको छ । कान्छी हेर्ने दर्शकसँग विभिन्न हलमा पुगेर होली मनाउने विचार मेरो छ ।

खुस्बु खड्का (अभिनेत्री)

अहिलेसम्म खासै योजना त छैन । नजिकका आफन्त साथीभाइसँग मनाउँछु । केही दिन आगाडि देखि लोला हानेको भन्दा पनि होलीकै दिन रङ्गसँग खेलेको मनपर्छ मलाई ।

दुर्गा खरेल (गायिका)

आफ्नो पन देखाउने पर्व हो । रङ्गलगाएर रङ्ग जस्तै जीवन होस् भन्ने कामना समेत होलीमा गरिन्छ । मेरो दिदीको घर भक्तपुरमा छ । उतै गएर होली मनाउने विचार छ ।

मञ्जु ढकाल (फेसन डिजाइनर)

हामी हिन्दुहरुको एक विशेष पर्व हो । यो पर्व सानैदेखि मनपर्छ । एक अर्काेसँग भएको मनमुटाव त्यागेर रङ्गसँग रमाइलो गर्दै मनाइने होलीको सकारात्मक पक्ष हो । म साथी, आफन्त र नजिकका चिने जानेकासँग होली मनाउने तयारीमा छु ।