बैतडीमा घरभित्र रहेका बालकमाथि चितुवाको आक्रमण

आँखा, टाउको र गालामा गहिरो घाउ

बैतडी । मेलौली नगरपालिका–९, रोकटामा एक बालकलाई चितुवाले आक्रमण गरेको छ।

सोमबार राति चितुवाको आक्रमणमा परी मानबहादुर चन्दका छोरा डेढ वर्षीय गणेशबहादुर चन्द गम्भीर घाइते भएका बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए।

घरकै भुइँतलाको भान्छा कोठामा बसिरहेका बेला बालकलाई चितुवाले आक्रमण गरेको हो । चितुवाको आक्रमणले चन्दको आँखा, टाउको र गालामा गहिरो घाउ रहेको छ।

उनलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि मंगलबार सेती अञ्चल अस्पताल, धनगढी रिफर गरिएको छ।

विगत छ वर्षदेखि चितुवाले आक्रमण गरी त्यस क्षेत्रका २३ जनाको ज्यान लिइसकेको छ। केही समय चितुवाले मानिसलाई आक्रमण नगरेको भए पनि फेरि आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रासमा रहेको वीरेन्द्र महताले जानकारी दिए। हामी जहिले पनि त्रासमै छौँ, स्थानीय प्रशासन मौन छ, उनले भने।

चितुवा नियन्त्रणका लागि पटक–पटक प्रहरी परिचालन गरिएता पनि सफलता भने हात नलागेको प्रशासनले जनाएको छ। बेला–बेलामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनरक्षक टोली खटिए पनि चितुवा फेला पार्न नसकेर टोली फर्किएको थियो।

त्यस क्षेत्रमा चितुवाले बालबालिका र महिलालाई बढी आक्रमण गर्ने गरेको छ। यसअघि गत भदौमा पनि एक महिलालाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो। रासस