क्रान्तिकारी माओवादी बाँकेद्धारा शहीद परिवारलाई सम्मान

शहीदको सपना साकार पार्ने प्रतिबद्धता

बाँके । नेकपा क्रान्तिकारी माओवादी बाँकेले राज्य व्यवस्था परिवर्तनका खातिर तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको दश बर्षिय जनयुद्धका क्रममा उच्च सहादत प्राप्त गर्ने सहीद परिवारलाई सम्मान गर्दै शहिद सप्ताह मनाएको छ ।

क्रान्तिकारी माओवादीले बाँकेको सिमलघारीमा आज सम्पन्न २३ औं शहिद सप्ताह कार्यक्रमा शहीद परिवारलाई सम्मान गरेको हो ।

क्रान्तिकारी पत्रकार महासंघ बाँकेले दिएको जानकारी अनुसार शहीद परिवारको सदस्य (भाईबुहारी) तारा शाहीलाई उक्त कार्यक्रममा दोसल्ला अोढाइ सम्मान गरिएको हो ।

क्रान्तिकारी माओवादी बाँकेले शहीद दिल बहादुर रम्तेल, वासु वाग्ले, राबृक्ष यादव, कृष्णसेन इच्छुक लगायत सबै ज्ञात-अज्ञात शहीदहरू प्रति फुलमाला, अविर अर्पण गरेर गहिरो स्मरण गर्दै सहिदले देखाएको सपना पुरा गरेरै छाड्ने प्रतिज्ञा गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य तथा बाँके बर्दिया ईन्चार्ज सङ्कुलले शहीद सबैको साझा सम्पत्ति भएको हुनाले उनिहरूले देखेको सपना पुरा गर्न पनि सबै संगठित हुनुपर्ने धारणा राखें ।

उनले पार्टीले निर्धारण गरेको तिन महिने अभियानलाई घनिभुत बनाउन र नीति तथा कार्यक्रमलाई बस्ति बस्तिसम्म लैजान सम्पूर्ण नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।

कार्यक्रमका सभापति तथा पार्टीको जिल्ला सचिव अर्जुनले शहीदको सपना साकार पार्न नयाँ जनवादी क्रान्तिमा गोलबद्द हुन सबैलाई आग्रह गर्दै भ्रममा नपरी क्रान्तिमा होमिनु पर्ने समेत तयार हुन नेता कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा पार्टीका नेता कार्यक्रताका साथै स्थानीयहरूको समेत सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन क्रान्तिकारी युवा लिंग बाँकेका संयोजक बिराटले गरेका थिए ।