उत्तर कोरियाको परमाणु संकटबारे प्रतिबन्ध कायमैः दक्षिण कोरियाद्धारा वार्ताको ढोका खुल्ला

परमाणु विवादको स्थायी समाधान धरै टाढा

उत्तर कोरिया । प्योङयाङले आफ्नो परमाणु कार्यक्रमलाई निरन्तरता दिन थप समय उपयोग गर्न खोजेको विश्वव्यापी चेतावनीका माझ दक्षिण कोरियाले उत्तर कोरियासँग स्पष्ट दृष्टिकोणसहित वार्तालाई निरन्तरता दिने बताएको छ।

दक्षिण कोरियाली विदेशमन्त्री गाङ ग्याङ ह्वाले सहमति भए पनि विश्व परिवेशमा परमाणु संकटसँग जुध्न उत्तर कोरियामाथिको प्रतिबन्ध कायमै रहेको बताइन्।

यसअघि अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाले सोल र उसका साझेदारहरूबीच फुट ल्याउने प्रयास गरिरहेको बताएका थिए।

यसअघि उत्तर र दक्षिण कोरियाले अर्को महिना हुन लागेको शीतकालीन ओलिम्पिक्समा एउटै झण्डामुनी सँगसँगै मार्च गर्न सहमति जनाएका थिए।

दुई देशबीच दुई वर्षभन्दा बढी समयपछि भएको पहिलो वार्तापछि दुवै देशले संयुक्त आइस हकी टोली बनाएर प्रतिस्पर्धा गर्ने सहमति गरेका छन्।

दक्षिण कोरियाली विदेशमन्त्री ह्वाले भनिन्, समग्रमा यो एकदमै सकारात्मक परिस्थिति हो, मलाई लाग्छ हामीले सबै विषयको व्यवस्थापन एकदमै ध्यान दिएर गर्नुपर्छ, तर हामी एकदमै विश्वस्त छौँ हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ।

उनले पछिल्लो सहमति खेलकुद, दक्षिण कोरिया र अन्तराष्ट्रिय समुदाय सबैका लागि सकारात्मक भएको जनाइन्। उनले उत्तर कोरियाली नागरिकलाई आवश्यक मानवीय सहायताबारे भने आफू सचेत रहेको बताइन्।

यसअघि अमेरिकी विदेशमन्त्री टिलर्सनले अमेरिका र चीनसहितका उसका साझेदारहरू उत्तर कोरियाली परमाणु हतियारको जोखिमविरुद्ध अहिलेको जति एकताबद्ध विगतमा कहिल्यै नभएको बताएका थिए। उनले चीनले प्योङयाङविरुद्ध कडा नीति अवलम्बन गरिरहेको बताए।

सोल र उसका साझेदारहरूबीच फुट ल्याउन अहिले उत्तर कोरियाले गरिरहेको प्रयास दक्षिण कोरियालीहरू विफल बनाइदिने विश्वास उनले व्यक्त गरेका छन्। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रसंघीय प्रतिबन्धहरू छल्न उत्तर कोरियालाई रूसले मद्दत गरिरहेको बताएका थिए।

बीबीसीका प्रतिरक्षा तथा कूटनीतिक मामिला संवाददाता जोनाथन मार्कस भन्छन्,ओलिम्पिक्सका कारण उत्तर र दक्षिण कोरियाले गरेको यो हातेमालो कोरियाली प्राय द्वीपमा उत्पन्न संकट सीधा युद्धतर्फ उन्मुख भइरहेको भन्ने चिन्ता बीचको दुर्लभ आशाको घडी हो।

उनका अनुसार सशस्त्र युद्धको भयानक परिणामबारे राष्ट्रपति ट्रम्पसहित सबैजना स्पष्ट छन् तर ओलिम्पिक्सका लागि भएको सहमतिले उत्तर कोरियाको परमाणु र क्षेप्यास्त्र कार्यक्रमको यथार्थलाई बदल्ने छैन।

उनी थप्छन्, वास्तविक अर्थमा अन्तर महादेशीय क्षमता हासिल गर्न दुवै कार्यक्रम अन्तर्गत थप परीक्षण गरिनुपर्नेछ। अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई त्यस्तो सामर्थ्य हासिल गर्न नदिने दृढता व्यक्त गरेका छन्। त्यही भएर यसले कोरियाली द्वन्द्वलाई समाप्त पार्ने दिशा लिनेछ भन्न कठिन छ। परमाणु विवादको स्थायी समाधान अझै धरै टाढा देखिन्छ। बीबीसीबाट