बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठक ३ बजेसम्म स्थगितः आजै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी

अस्थायी राजधानीका लागि सम्भावित ठाउँबारे छलफल

काठमाडौं । आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठक दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको छ । प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने मुख्य एजेन्डासहित विहान ९ बजेबाट बैठक शुरु भएपनि प्रदेशको नामबारे कुनै निर्णय नगरेरै स्थगित गरिएको हो ।

उक्त बैठकमा प्रदेश प्रमुखका नाम र प्रदेशको अस्थायी राजधानीका लागि सम्भावित ठाउँबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकले सात वटा प्रदेशमा प्रमुख नियुक्त गर्ने र अस्थायी मुकाम पनि तोक्नेछ बताइएको छ।

श्रोतका अनुसार मधेसवादी दुई संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र कांग्रेसको भागबन्डामा सात प्रदेशमा प्रमुख नियुक्त हुन लागेका हुन् । प्रदेश २ र ५ मा मधेसवादी दलको सिफारिशमा प्रदेश प्रमुख नियुक्त हुनेछन् । राजपाले उमाकान्त झा र फोरमले रत्नेश्वरलाल कायस्थको नाम सिफारिश गरेका छन् । नेपाली कांग्रेसले बाँकी ५ प्रदेशमा प्रमुख बनाउने भएको छ।

हरपल नेपालसँग कुरा गर्दै एक नेताले भने–‘प्रदेश १ मा गोविन्द सुब्बा, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ६ मा कृष्णकेशरी खनाल र प्रदेश सातमा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गर्ने प्रस्ताव आएको छ । तर कसैको नाम पनि निर्णय भएका छैनन, छलफल दिउँस तीन बजे फेरी शुररु हुन्छ ।’

सरकारले प्रदेश नम्बर १को विराटनगर, २ को जनकपुर, ३ को ललितपुर, ४ को पोखरा, ५को बुटवल, ६ को सुर्खेत र सातको धनगढीमा प्रदेश सभाको पहिलो बैठक बस्ने गरी अस्थायी मुकाम तोक्ने विषयमा प्रस्ताव अघि लगेको खुल्न आएको छ ।