घाँसदाउरा लिन जंगल गएका दुईको आगलागीमा परेर मृत्यु

एक जना घाइतेको काठमाडौंमा उपचार हुँदै

रुकुम । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा जंगलमा लागेको आगोमा परेर दुईजनाको मृत्यु भएको छ । उत्तरगंगा गाउँपालिकाको वडा नं ७ का श्यामबहादुर बोहरा र केशरमान मल्लको उक्त आगलागीबाट मृत्यु भएको हो ।

आगलागीमा परेर दुवैजनाको आइतबार बिहान मृत्यु भएको भएपनि जिल्लाको सबैभन्दा विकट ठाउँ भएकाले ढिला गरी जानकारी आएको प्रजिअ भुपेन्द्र सापकोटाले बताएका छन ।

सोही ठाउँका शेरबहादुर बोहरा गम्भीर आगलागीबाट घाइते भएका छन । उनको जिल्लामा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको बताइएको छ ।

गाउँपालिकाको वडा नं ३ को लालपाटन जंगलमा गत शुक्रबारदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन, उक्त आगोमा परेर घाँसदाउरा लिन जाने क्रममा उनीहरुको ज्यान गएको बताइएको छ ।