आत्मघाती आक्रमणबाट बग्दादमा ३५ जना मारिएः ९० जना भन्दा बढी घाइते

निरन्तर बम विस्फोट र हिंसात्मक आक्रमण

इराक । इराकको राजधानी बग्दादमा भएको दुई वटा आत्मघाती बम विष्फोटमा कम्तीमा ३५ जना मारिएको चिकित्सासम्बन्धी स्रोतहरुले बताएका छन्। तीन दिनको अवधिमा यो दोस्रो आक्रमण हो।

शहरको केन्द्रस्थित तायरान स्क्वायरमा भएको आक्रमणमा ९० जनाभन्दा बढी घाइते भएका छन्। सन् २०१४ यता इस्लामिक स्टेट आइएस समूहले इराकको ठूलो भूभागमा उसको पकड जमाएपछि बग्दादमा निरन्तर बम विस्फोट र हिंसात्मक आक्रमण हुँदै आएका छन्।

तर इराकी सरकारले गत महिना आइएस समूहबाट सबै क्षेत्र पुन फिर्ता लिएको घोषणा गरेपछि भने त्यस्ता आक्रमणका घटनाहरुमा कमी आएका थिए।

आन्तरिक मन्त्रालयले जनाएअनुसार सोमबारको घटना विस्फोटक पदार्थले बाँधिएको भेस्ट लगाएका दुई पुरुषले गरेका हुन्।

आक्रमण भएको ठाउँ एकदमै व्यस्त क्षेत्र हो जहाँ हरेक बिहान ठूलो संख्यामा निर्माण मजदुरहरुको भीड लाग्ने गर्छ । विगतमा पनि उक्त ठाउँलाई विद्रोहीहरुले निशानामा पारेका थिए। बीबीसीबाट