इच्छुक साँस्कृतिक प्रतिष्ठानमा साहित्यिक जमघटः साहित्यकारहरुको वहस भिडियोमा हेर्नुहोस

समाजवादी यथार्थवादी साहित्य सिर्जनामा जोड

काठमाडौं । इच्छुक साँस्कृतिक प्रतिष्ठानले हिजो राजधानीमा वर्तमान समयमा साहित्य सिर्जना र अक्टोबर क्रान्तिको सान्दर्भिकताका विषयमा वृहत वहस कार्यक्रम गरेको छ । उक्त बहस कार्यक्रममा वक्ताहरुले समाजवादी यथार्थवादी साहित्य र प्रगतिवादी साहित्यमाथि गहिरो छलफल गरेका छन ।

उक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेकपा माओवादी केन्द्र, नेकपा एमाले लगायतका पार्टीसम्बद्ध माक्र्सवादी साहित्यकारहरुले त्यस्तो वहस गरेका हुन ।

उक्त बहस कार्यक्रमका वक्ताहरुले अक्टोबर क्रान्तिको सान्दर्भिकता, नेपाली समाजको वर्तमान अवस्था, क्रान्ति र परिवर्तनको पक्षमा साहित्यले अहम भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

समाज बदल्नका लागि साहित्यको सिर्जना गरिनुपर्नेमा जोड दिदै नेकपा क्रान्तिकारी माओवादीका महासचिव समेत रहेका बरिष्ठ सौन्दर्य चिन्तक मोहन बैद्य किरण ‘चैतन्य’ले भने–“अक्टोबर क्रान्तिले समाज बदल्नका लागि साहित्यको सिर्जना गरिनु पर्दछ भन्ने शिक्षा प्रदान गरेको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा अहिले विद्यमान संसदवाद, संशोधनवाद र अवसरवादले फैलाएको भ्रम चिर्दै नयाँ जनवादी क्रान्तिको तयारीको पक्षमा प्रगतिवादी तथा समाजवादी यथार्थवादी साहित्यले भूमिका खेल्नु पर्दछ ।”

त्यस्तै वरिष्ठ समालोचक निनु चापागाईले क्रान्तिको पक्षमा यथार्थवादी साहित्यकारहरुले कलम चलाउनुपर्नेमा जोड दिए । उनले भने–“अक्टोबर क्रान्तिले निजी सम्पत्ति, परिवार र राज्यसत्तालाई नै सिध्याउने काम गरेको थियो । यसो नगरी समाजवादी क्रान्ति हुँदैन । नेपालमा पनि त्यस किसिमको क्रान्तिको पक्षमा प्रगतिवादी तथा समाजवादी यथार्थवादी साहित्यकारहरुले भूमिका खेल्नु पर्दछ ।”

त्यसैगरी प्रगतिवादी कवि, साहित्यकार अमर गिरीले समाज रुपान्तरणका लागि साहित्य रचना सिर्जना हुनुपर्ने धारणा राखें । उनले भने–“एमाले र माओवादी केन्द्रभित्र पनि क्रान्ति र परिवर्तनको पक्षमा कलम चलाउने सर्जक र स्रष्टाहरु रहेका छन् । यसलाई यान्त्रिक रुपमा लिनु हुँदैन । माक्र्सवाद परित्याग गरेको पार्टी सम्बद्ध साहित्यकारहरुले समाजवादी यथार्थवादी साहित्य लेख्न सक्दैनन् ।”

उक्त कार्यक्रमको सभापतित्व इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष इश्वरचन्द्र ज्ञवालीले गरेका थिए । कार्यक्रममा प्रा.डा. जगदीशचन्द्र भण्डारी, प्रा.डा. ताराकान्त पाण्डेय, माक्र्सवादी लेखक तथा साहित्यकार रोशन जनकपुरी, साहित्यकार सीता शर्मा, कवि संगीत श्रोता लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा साहित्यकार, पत्रकार, लेखक तथा बुद्धीजिविहरुको समेत उपस्थिति रहेको थियो ।