प्रदेश राजधानी मागको आन्दोलन चर्किदै, धनकुटा बन्दः जनजीवन प्रभावित

नाराबाजी र प्रदर्शन जारी

धनकुटा । प्रदेश नम्बर १ को अस्थायी राजधानी धनकुटा बनाउनुपर्ने माग राखी २८ दिनदेखि जारी आन्दोलनरतले जनजीवन प्रभावित बन्दै गएको छ ।

धनकुटाबासीहरुले धनकुटा हिमाल, पहाड र तराईलाई जोड्ने क्षेत्र, ऐतिहासिक स्थल र प्रदेशको केन्द्रका रुपमा रहेकाले अस्थायी राजधानी त्यसैलाई तोक्नुपर्न माग राख्दै आएका छन ।

उनीहरुले १ नम्बर प्रदेशको राजधानी धनकुटा राख्न दबाबमूलक आन्दोलन गर्दै आएका छन । यसअघि छ दिनसम्म आमहडताल गरेका उनीहरुले गरेको बन्दले जिल्लाको जनजीवन प्रभावित बनेको छ।

बन्दका कारण शैक्षिक संस्था, बजार, कलकारखाना तथा यातायातका साधन पूर्णरूपमा ठप्प छन्। धनकुटा र हिलेबजारमा दिनहुँ विरोध, नाराबाजी र प्रदर्शन हुने गरेको छ।

आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले प्रदेशको अस्थायी राजधानी अहिलेको सरकारले तोक्ने भएकाले दबाब दिन सरकारको बैठक बस्ने दिन जिल्ला बन्द गरेको बताएका हुन।