मसालका महामन्त्री बिहानै प्रचण्ड निवास पुगेंः राष्ष्टियसभा निर्वाचन र एकताबारे छलफल

राजनीतिक स्थिरता र विकासका लागि बामपन्थी एकतामा जोड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहबीच भेटवार्ता आज भेटवार्ता भएको छ ।

आज बिहान ७ः३० बजे प्रचण्ड निवस खुमलटारमा उनीहरुबिच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई नेताहरु बीच बाम गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नेबारे छलफल भएको बताइएको छ ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वामपन्थीहरु मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसाल बीचको चुनावी तालमेललाई कायमै राख्नुपर्नेमा जोड दिएका छन ।

दुवै पार्टीका नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेद्वार खडा गर्दै वामपन्थी एकता र तालमेललाई अझ बलियो बनाएर अगाडि बढ्न सहमत भएको बताइएको छ ।

मसालका महामन्त्री सिंहले वामपन्थीहरु मिलेर अघि बढ्दा मात्रै मुलुकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिएका थिए ।