निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गर्योः माघ २४ मा चुनाव

उम्मेदवारको मनोनयनपत्र १० गते दर्ता गर्ने

काठमाडौं । निर्वाचन आयोगले माघ २४ गते बुधबार बिहान १० देखि ३ बजेसम्म राष्ट्रियसभाको मतदान गर्ने जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधकार बसेको बैठकले राष्ट्रियसभाको कार्यतालिकालाई स्वीकृत गर्ने निर्णय गरेसँगै कार्यकतालिका सार्वजनिक गरिएको हो ।

आयोगले ९ गते अन्तिम नामावली प्रकाशन गरी १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिकामा उल्लेख छ। त्यस्तै १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने जनाएको छ ।

आयोगले जारी गरेको राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका अनुसार माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ ८ सदस्य निर्वाचित हुने व्यवस्था छ। जसमा महिला तीन जना, दलित एक जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक जना र अन्य तीन जना निर्वाचित हुनेछन्।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्थानीय तह अन्तर्गतका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं प्रदेश सभाका सदस्य मतदाता रहने व्यवस्था छ।

निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १ हजार ५०६ जना तथा प्रदेशसभाका ५५० सदस्य गरी कुल २,०५६ जना मतदाता रहेका छन्।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ। नेपालको संविधान अनुसार, स्थानीय तह र प्रदेशसभा सदस्यबाट राष्ट्रिय सभा सदस्यका लागि ५६ जना निर्वाचित हुने व्यवस्था छ।