गोविन्द केसी रिहाः अदालतद्धारा प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाउन आदेश

अदालतको अनादर गर्ने अभिव्यक्ति नदिएको केसीको भनाई

काठमाडौं । अदालतको अवहेलना गरेको आरोपमा गिरफ्तार गरिएका डाक्टर गोविन्द केसीलाई बुधवार सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ।

केसीको बयान र उनका पक्षमा अधिवक्ताहरूको बहस पछि यस्तो आदेश गरिएको हो। बयानका क्रममा डा. केसीले आफ्नो बयानका क्रममा अदालतको अनादर गर्ने अभिव्यक्ति नदिएको तर्क गरेका छन ।

अदालतले आजको बहसपछि उनलाई हाल रिहा गरेर कारबाहि गर्न आदेश दिएको छ । अदालतले उनको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरेर हाललाई रिहा गरी बाँकी कारबाही गर्नु आदेश दिएको हो ।

अदालतको उक्त आदेशमा प्रधानन्यायाधीश गोपाल पराजुलीको दुवै नागरिकताका प्रतिलिपि झिकाउनुका साथै न्यायपरिषद्मा उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिसमेत झिकाउन भनिएको छ।

डाक्टर केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताकाका साथै न्यायपरिषद्मामा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्र लगायतका विषयमा अदालतमै प्रश्न उठाएका थिए।

उक्त आदेश सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले दिएको हो। उनको रिहाइको खबरले उनका सुभेच्छुकहरु खुशी भएका छन ।